
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)का लिग चरणका खेलहरु जब सकिन लाग्छ त्यसको समीकरणको चर्चा नेपालमा समेत चल्छ। यसमा टेकेर पक्कै अनुमान लगाइदो हो : नेपालमा पनि आफ्नै फ्रेन्चाइज क्रिकेट हुँदा माहोल बन्नेछ। अझ नेपालमा सामान्य कुनै सिरिज हुँदा आइपुग्ने समर्थक र उनीहरुको हुटिङले फ्रेन्चाइज क्रिकेट आयोजना गरेर विश्वस्तरका खेलाडी र नेपाली खेलाडीलाई साथसाथ मैदान उतार्ने हो भने दर्शकको उपस्थिति कति हुन्थ्यो होला? भन्ने अनुमान नेपाली क्रिकेट पछ्याउने जो कोहीले कहिल्यै न कहिल्यै त पक्कै गर्यो होला।
अहिले काठमाडौंमा नेपाल टी २० लिग चलिरहेको छ। तर माथि अनुमान गरेजस्तो केही अवस्था छैन। न त नेपाल टी २० लिगको प्रभाव आईपीएलको नेपालमा पर्ने जति नै पनि प्रभाव देखिएको छ, न केही दिन फ्रि टिकट हुँदै पनि मैदानमा दर्शकको उपस्थिति देखिएको थियो। यतिका ठूलो प्रतियोगिता चलिरहँदा पनि नेपाली व्यवसायिक घरानाहरुको समेत उपस्थित प्रतियोगितासँग छैन। यस्तोमा केही बेटिङ पृष्ठभूमिका कम्पनीसँगको साझेदारी, प्रायोजन र सहयोगमा लिग भने जारी छ।
चर्चा हुँदै नभएको भन्ने चाहिँ होइन। तर, मैदान भित्रको खेलले भन्दा मैदानबाहिरको झेलले प्रतियोगिता चर्चामा छ। क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङमा पक्राउ परेको, फलानो टिमका खेलाडीलाई फिक्सिङको अफर आएको, फलानो खेलाडीको खेल शंकास्पद देखिएको, आईसीसीले अनुसन्धान थालेको, प्रहरीले अनुसन्धान थालेको, अख्तियारले पत्र काटेको, राखेपले पत्र काटेको, श्रम स्वीकृति नलिएको लगायता विषयले मात्र चर्चा पाइरहेको नेपाल टी २० लिगसँग जोडिएर।
अब जाउँ मैदानको प्रसंगमा। मैदानमा लिग चरणको खेलहरु सकिएको छ। आजबाट पहिलो क्वालिफायर्सको खेल सुरु हुँदैछ। लिग चरणको खेलसकिँदा लुम्बिनी अल स्टार्स १६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा १४ जोडेको जनकपुर रोयल्सले स्थान बनाउँदा तेस्रो स्थानमा १० अंक जोड्दै विराटनगर सुपर किंग्स रह्यो। चौथो स्थानमा काठमाडौँ नाइट्स ८ अंक जोडेर रहँदा पाचौँ र छैटौँ स्थानमा फारवेस्ट युनाइटेड र पोखरा एभेन्जर्स समान ६ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
आज हुने पहिलो क्वालिफार्सको खेलमा शीर्षस्थानको लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स भिड्दैछन्। आजको खेलमा विजेता हुने टोलीले फाइनलमा स्थान बनाउने छ भने आज पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्ने छ। सोमवार इलिमिनेटरमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच हुनेछ जसको विजेता टोलीले दोस्रो क्वालिफायर्समा आज पराजित हुने टोलीसँग खेल्नेछ। दोस्रो क्वालिफायर्सको विजेता टोलीले आजको विजेता टोलीसँग फाइनल खेल्नेछ।