PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल



पहिलोपोस्ट

गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल

बुटवल : गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल भएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले रेसुङ्गा विमानस्थलमा उडान भरेको हो । उक्त जहाज तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्।

उक्त जहाजमा गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार थिए। जहाज विमानस्थलमा १ घण्टा बसेर फेरि काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ।

यसअघि २५ जेठ ०७५ मा तारा एयरले नै कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो। अहिले विमानस्थलको धावनमार्ग पक्की भइसकेको छ । तर, अझै पनि नियमित उडानमा भने शंका नै छ।

विसं २०६३ सालदेखि निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो। विमानस्थलमा धावनमार्ग पीच गर्ने र टर्मिनल भवन तथा कन्ट्रोल टावरको निर्माण तथा रंगरोगन लगायतका सबै कामहरु सकिएका छन्।

२०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलान्यास गरे पनि २०७२ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो। कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग रहेको छ। १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा पर्छ।

लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी–१ का सांसद चन्द्र भण्डारीले यो आजको अवस्थासम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवं सहयोग अपरिहार्य रहेको बताए।

त्यसैगरि, पूर्व सांसद एवं नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले सुरक्षीत हवाई यात्रा समयमै गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुने बताए। उनले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने भन्दै आफू परराष्ट्रमन्त्री हुँदा शिलन्यास गरेको विमानस्थलमा ढिलै भएपनि उडान सुरु हुन लागेकोमा खुसी व्यक्त गरे।

आइतबार डेमो फ्लाइट सफल भएको र अब नियमित उडानका लागि प्रक्रिया अगाडि बढाउने नगरप्रमुख खिलध्वज पन्थीले बताए । विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्नेछ भने, गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell