
काठमाडौँ: लुम्बिनी अलस्टार्स नेपाल टी २० लिगको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै अलस्टार्स फाइनलमा प्रवेश गरेको हो।
पहिलो क्वालिफायर्स अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अलस्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। अलस्टार्सका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाउँदा अनिल साहले २४ रन बनाए। त्यस्तै विपुल शर्माले २० रन बनाउँदा स्याड्ली भान स्कालक्यकले १७, लाहिरु मिलान्थाले १६ तथा तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए।
बलिङतर्फ जनकपुरका आशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान २ विकेट लिँदा ट्रेभोन ग्रिफ्फित र पवन सर्राफले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १३७ रनमा समेटियो। जनकपुरका लागि समिउल्लाह शिनवरीलेमा सर्वाधिक ४५ रन बनाउँदा पवन सर्राफले अविजित ३० तथा शर्फुद्दिन असरफले २४ रन बनाए। जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन अलस्टार्सका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २ विकेट लिँदा स्याड्ली भानले १ विकेट लिए।
जितसँगै अलस्टार्सले फाइनलमा स्थान बनाएको छ भने जनकपुर रोयल्सले भोलि हुने इलिमिनेटरको विजेतासँग भिड्ने छ। सोमवार इलिमिनेटरमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच हुनेछ।