PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?



अनन्तराज न्यौपाने

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?

विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले नेता कार्कीलाई आइतबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रमुख खापुङले नेता कार्कीलाई संविधानको धारा १६८ को २ अनुसार नियुक्त गरेका हुन्।

प्रवक्ता श्रेष्ठले मुख्यमन्त्री कार्कीलाई सोमबार दिउँसो २ बजे सपथग्रहण गराइने जानकारी दिए।

धारा १६८ को १ अनुसार मुख्यमन्त्री र सरकारका लागि कुनै एक दलले स्पष्ट बहुमत नपुर्याएको हुँदा २ वा २ भन्दा बढी दलका समर्थनमा २ अनुसार कार्की मुख्यमन्त्री भएका हुन्।

कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र समाजवादी जनता दल थरी अन्य ३ दलको समर्थन छ।

प्रदेश १ मा कुल सांसदको संख्या ९३ छ। जसअनुसार सरकार बनाउन ४७ जनाको बहुमत चाहिन्छ। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी सत्तापक्षमा ६० जना पुगेका छन्।

यसअघि आइतबार नै नेता कार्कीले अन्य तीन दलका संसदीय दलका नेताको हस्ताक्षरसहितको दाबी प्रमुख खापुङसमक्ष पेस गरेका थिए।

पत्रमा कार्कीसहित माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षर थियो।

नवनियुक्त मन्त्री कार्कीले सोमबार सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको मन्त्रिपरिषदको गठन गरिने जानकारी दिए।

कार्कीले आफू अहिलेको भन्दा धेरै मन्त्रालय बनाउने पक्षमा आफू नरहेको बताए।

को हुन् कार्की?

२०२१ असोज ११ मा झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा जन्मिएका कार्कीले एसएलसी सम्मको अध्ययन गौरादहकै जनता माविमा गरेका थिए।

कार्की विद्यालयमा अध्ययनरत रहँदै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भए। यसैबिच २०३६ जेठ १० मा जनमत संग्रहको घोषणा गरियो। यसपछि देशभरि पञ्चायतविरोधी राजनीतिक गतिविधि तीव्र बन्यो। कार्की यही बेला माले पार्टीको सम्पर्कमा आए।

स्कुले जीवन सकेपछि उनी कानुनको अध्ययन गर्न धरानको महेन्द्र बहुमुखी क्याम्पस २०४२ सालमा पुगे। त्यहाँ उनले आइएलको पहिलो ब्याजसम्म मात्र अध्ययन गरे। त्यसपछि काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल कलेज भर्ना हुन गए। कार्कीले कानुनमा स्नातकोत्तर तह (एल एल एम)–सम्मको अध्ययन पूरा गरेका छन्।

उनी २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए। यसअघि क्याम्पसमा प्रारम्भिक कमिटी, काठमाडौँ जिल्ला कमिटी, वाग्मती अञ्चल कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य र मेची अन्चल समन्वय कमिटीको सदस्य लगायतका जिम्मेवारी उनले सम्हालिसकेका छन्।

कार्की २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)–को नवौँ रास्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् । त्यस महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उनले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी वहन गरे।

पार्टीको संरचना २०७४ पछि संघीयता अनुसारको भएपछि उनले प्रदेश १ को प्रचार विभागको प्रमुखको भूमिका पनि निर्वाह गरे।

उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित भए। यसपछि २०७४ फागुन ३ गते कार्कीले प्रदेशको स्थापनाकालीन मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाए।

कार्की आफू करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कार्यरत रहँदा ५७ वटा विभिन्न प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली र कार्यविधि तर्जुमा गरी आफूले कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको दाबी गर्छन्।

उनले प्रदेशको शान्तिसुरक्षाका लागि प्रदेश प्रहरीको क्षमता अभिवृद्धि, संस्थागत सबलीकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा आफूले महत्त्वपूर्ण योगदान गरेको जिकिर गरेका छन्।

उनी हाल नेकपा (एमाले)–को स्थायी कमिटी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जका भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell