PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

तीन वर्षदेखि चिनियाँहरु पर्खिरहेको वसन्त पर्वको यो यात्रा: शहरमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण ग्रामीण भेगमा पुग्ने चिन्ता



विधुर ढकाल

तीन वर्षदेखि चिनियाँहरु पर्खिरहेको वसन्त पर्वको यो यात्रा: शहरमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण ग्रामीण भेगमा पुग्ने चिन्ता
आइतबार बिहान गक्वाङचौ पाइयुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चाइना साउर्थन एयरलाइन्सको बिमान। अन्तर्राष्ट्रिय यात्रुमा लागू हुने क्वारेन्टाइन आइतबारबाट हटेपछि यो विमान टोरन्टोबाट १५ घण्टाको यात्रा तय गरी चीनमा अवतरण गरेको हो। फोटो: चाइना डेली।

सांघाई: कोभिड-१९ इन्डेमिकतिर जाँदै गर्दा चीन पनि बाँकी विश्व जस्तै खुला हुने तरखरमा छ। सांघाई अवस्थित संक्रामक रोग विशेषज्ञ झाङ वनहोङले चीन पहिलो वेबको उच्च विन्दुमा पुगेको बताउँदै यो छिट्टै इन्डेमिकतर्फ जाने विश्वास व्यक्त गरेका छन्। सांघाईमा शुक्रबार आयोजित एक फोरममा उनले यस्तो विश्वास व्यक्त गरिरहँदा उनले स्वास्थ्य सेवाको पहुँच स्रोतहरुको उपलब्धताले यो संक्रमण फ्लु जस्तै हुने दाबी गरे। वेनहोङले अन्तिममा यो मौसमी भाइरलको रुपमा सीमित हुने समेत बताएका छन्। 

'कोभिड-१९ पनि फ्लु जस्तै एक स्थानीय रोगको रुपमा निश्चित क्षेत्रभित्र अनुमानित ढाँचाभित्र निरन्तर उपस्थित रहिरहनेछ,' कोभिड-१९ पछि पहिलोपटक प्रत्यक्ष रुपमा आयोजित छलफलमा उनले यस्तो बताए। 

पछिल्लो समय चीन कोभिड-१९ को उच्च संक्रमण दरसँग जुधिरहेको छ। लामो समयसम्म लागू 'शून्य कोभिड' नीतिलाई खारेज गरेसँगै चिनियाँ बजार खुला भएका छन्। योसँगै शहरी क्षेत्रहरुमा संक्रमण दर पनि उच्च रुपमा बढिरहेको छ। 

यद्यपि कतिमा संक्रमण भएको छ र यसबीच कति जनाको मृत्यु भयो भन्ने कुराको स्पष्टता छैन। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले डिसेम्वर २५ देखि दैनिक रिपोर्ट सार्वजनिक गर्न बन्द गरेको छ। उसले मासिक रुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्ने बताएको छ। 

त्यस्तै उसले गम्भीर केसहरुको मात्र तथ्यांक सार्वजनिक गर्ने जनाएको छ। यसैलाई लिएर पश्चिमा राष्ट्रहरुले चीनमाथि पारदर्शिताको प्रश्न उठाएका छन्। उनीहरुले कोभिड-१९ सम्बन्धित मृत्युलाई न्युनरुपमा प्रस्तुत गरिरहेको आरोप लगाइरहेका छन्। 

गत डिसेम्बर ३० मा जारी अन्तिम रिपोर्ट अनुसार डिसेम्बर १ देखि २९ सम्म जम्मा १४ जनाको मृत्यु भएको र हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २४७ मात्र रहेको छ। 

चीनको सरकारी प्रशारक निकाय सीसीटीभीसँगको एक अन्तर्वार्तामा आइतबार त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी जियायो याहुईले चीनमा कोभिड संक्रमितमध्ये ८ प्रतिशतमा मात्र नियमोनियाको बिकास भएको दाबी गरेको चाइना डेलीले जनाएको छ। 

प्रतिशतका आधारमा यो न्यूनदेखि पनि चिनियाँ जनसंख्याको आकार अनुसार निमोनिया बिकास हुनेको संख्या न्यून भने नहुने उनले स्वीकार गरेका छन्। 

चिनियाँ विशेषज्ञहरुले भाइरसको विकासक्रमलाई नजिकबाट नियालिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ। क्वारेन्टाइनको व्यवस्था खारेज गरेको छ। यसले विशेषज्ञहरुमा विदेशबाट नयाँ भेरियन्ट प्रवेश गर्ने त होइन भन्ने चिन्ता पनि थपिएको छ। 

पछिल्लो समय चीनका विभिन्न शहरहरुमा कोभिड-१९ को ओमिक्रोनको बीएफ ७ र बीए ५.२ को मिक्स स्ट्रेन फैलिरहेको छ। 

त्यस्तै पछिल्लो पाँच महिनामा नयाँ एक्सबीबी भेरियन्टका १६ केस पनि फेला पेका छन्। यो भेरियन्ट अमेरिका युरोप सिंगापुर तथा भारतमा बढी देखिएको थियो। 

लगभग दुई लाख १५ हजार प्रवासीसहित दुई करोड ५० लाख जनसंख्या भएको सांघाईमा हाल कोभिड-१९ को संक्रमण उच्च विन्दुमा पुगेको छ। महामारीविरुद्धको नियममा परिवर्तन आएसँगै देशभर संक्रमणको दर उच्च बिन्दुमा छ। 

'बहुसंख्यक चिनियाँहरूले पहिलोपटक महामारीको सामना गरिरहेका छन्। वर्तमान वेब वास्तवमै कठिन छ। विशेषगरी देशका चिकित्सकहरूका लागि,'  सांघाईको हुआशन अस्पतालका संक्रामक रोग विभागका प्रमुखसमेत रहेका झाङले शुक्रबारको सांघाई पिपल्स असोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रीले आयोजना गरेको कार्यक्रममा भनेका थिए, 'अन्य देशहरूमा पहिले देखिए जस्तै दोस्रो वा तेस्रो लहर पक्कै हुनेछ, तर पहिलो सामान्यतया सबैभन्दा गाह्रो हुनेछ। कोभिड-१९ को पुन: संक्रमण हुनेछ, तर जीवन चल्नेछ।' 

चिनियाँ स्वास्थ्य आयोगले अधिकांश ठूला शहरहरुमा संक्रमण उच्च विन्दुमा पुगेर ओरालो लागिरहेको दाबी गरिरहेको छ। साथै यो संक्रमण दर क्रमशः साना शहर तथा ग्रामीण क्षेत्रमा जाँदैछ। 

अहिले चीनका अस्पतालमा आईसीयू बेड ८० प्रतिशतसम्म भरिएका छन्। यसबीच चीनमा वसन्त पर्वको ठूलो मानव यात्रा सुरु भएको छ। शनिबारदेखि सुरु भएको यो यात्रा ४० दिन सम्म चल्नेछ। यो यात्राका क्रममा दुई अर्ब बढी यात्रा हुनेछन्। यसले पनि शहरबाट संक्रमण ग्रामीण क्षेत्रमा पुर्‍याउन सक्ने चिन्ता थपिएको छ। वसन्त पर्वको यो यात्राको पहिलो दिन शनिबार डिसेम्वर ७ मा मात्र तीन करोड ४० लाख बढी यात्रुले यात्रा गरेको सिन्ह्वाले जनाएको छ। 

शनिबार भएको यो यात्रा २०२२ को पहिलो दिनको तुलनामा ३८.९ प्रतिशत बढी हो। शनिबार ६० लाख बढी रेल यात्रा र दुई करोड ६० लाख बढी सडक यात्रा भएका छन्। 

यो चीनको चिन्ताको विषय हो। शहरमा भन्दा ग्रामीण भेगमा स्वास्थ्य सुविधा प्रर्याप्त छैनन्। यात्रापछि क्वारेन्टाइन बस्नु पर्ने नियम पनि खारेज भइसकेको छ। ग्रामीण क्षेत्रमा संक्रमण भई गम्भीर भए शहर पठाउन समस्या हुने कुरा स्वास्थ्य आयोगका प्रमुखले जियायोले स्वीकार गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell