
काठमाडौंः सत्ता गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गरेका छन्। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले विश्वासको मतमा एक भएर अघि बढ्ने निर्णय गर्दै अन्य दलहरुलाई पनि सघाउन आग्रह गर्ने निर्णय गरेका हुन्।
बैठकले सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा दलहरूबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। साझेदारीबारे मुलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए।