हेटौंडाः सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वमा भागबन्डा मिलेसँगै वाग्मती प्रदेमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले प्रदेशको भागबन्डामा सहमति गरेको थियो।
वाग्मतीमा एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
सहमति अनुसार मुख्यमन्त्री जम्कट्टे बन्नेछन्। गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बन्ने तय भएको उनले बताए। हाल उनी प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री समेत हुन्।
प्रदेश सभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।
जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश सभाको पहिलो कार्यकालमा तीन मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार अपराह्न ४ बजेसम्म समय दिएका छन्।
११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ। वाग्मतीमा गठबन्धनका तीन दल एमाले, माओवादी केन्द्र र राप्रपाको ६१ सिट छ।
गठबन्धनमा भएको सहमति अनुसार वाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको छ।