PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'स्पट फिक्सिङ'मा गिजोलिएको क्रिकेटः प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!



सविन ढकाल

'स्पट फिक्सिङ'मा गिजोलिएको क्रिकेटः प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!

काठमाडौं: कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा  केही दिनदेखि २० लिग चलिरहेको छ। खेलमा व्यस्त हुनुपर्ने टिमका सदस्यदेखि खेलाडी अहिले खेलसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा चक्कर लाइरहेका छन्।

कारण जारी प्रतियोगितामा भइरहेको फिक्सिङको आशंका।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग प्रहरीले सोधपुछ गरेको छ। आइतबारसम्म प्रहरीले अन्य ८ जना खेलाडीहरुसँग पनि बयान लिएको छ। जसमा नेपाली र विदेशी खेलाडी पनि छन्। जारी लिगमा ६ टिमका ९० जान खेलाडी सहभागी छन्। जसमा ३४ जना विदेशी खेलाडी रहेका छन्। शंकाको घेरामा रहेकालाई मात्र होइन आवश्यक देखिएका खेलाडीहरुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ।

'अनुसन्धानको क्रममा आवश्यक देखिएका खेलाडीदेखि अन्य पदाधिकारीहरुलाई हामी सोधुपछ गर्छौं,' व्यूरोका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।

खेल सुरु हुनुभन्दा अगाडिदेखि नै विवादित बनेको लिग 'स्पट फिक्सिङ' को चर्चा आएपछि झनै गिजोलिएको हो। त्यसपछि एकपछि अर्को विवाद सतहमा आएको हो। तर स्पट फिक्सिङले भने प्रहरीदेखि आईसीसीको समेत ध्यान खिचेको छ। केही दिनअघि मात्र दुबईमा रहेको आइसीसीको क्षेत्रीय कार्यालयबाट दुई जना पदाधिकारी आएर घटनाको जानकारी लिएर फर्किएका छन्। त्यस्तै आईसीसीको एन्टी करप्सन युनिटका म्यानेजर बीर सिंहले अहिले पनि घटनाको अनुसन्धान गरिरहेका छन्।

आईसीसीको टोलीले घटनाको अनुसन्धान गरिरहेको सिआइबीको टोलीसँग पनि छलफल गरेको थियो। छलफलको क्रममा उनीहरुले नेपालमा फिक्सिङको कानुन र थप अनुसन्धानमा खुलेका पाटोको जानकारी लिएका छन्। उनीहरुले आवश्यकता अनुसार प्रहरीलाई सहयोग गर्ने बाचा दिएर गएको एक प्रहरी अधिकृतले जानकारी दिए।

'उनीहरु पोजेटिभ भएर फर्किएका छन्। आफ्नो अनुसन्धान पनि जारी राख्ने र आवश्यक परे सहयोग लिन आग्रह पनि गरेका थिए,' ती अधिकारीले भने।

विवादित हुन थालेको खेल घोषणा भएयता नै हो। पटकपटक मिति सरेर सुरु भएको प्रतियोगिताको विवाद मध्यतिर आइपुग्दा उत्कर्षमा पुगेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अघि नेपाल क्यानले बिडिङ नगरी विदेशी कम्पनी भित्र्याएको र नेपाली क्रिकेट बेचेको आरोप चर्किएको थियो। अदालतमा अझ यो मुद्दा टुंगिएको छैन भने भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सको पछिल्लो गतिविधिले प्रतियोगितामाथि लागेका आरोपलाई अझ बलियो बनाउँदै लगेको छ।

बेटिङ पृष्टभूमिको कम्पनीलाई साझेदार बनाएकोमा आलोचना ब्यहोरेको क्यानले कम्पनीको बचाउ गर्दै आएको थियो। नेपाल टी २० लिगमा सेभेनथ्री स्पोर्ट्सले प्रायोजक ल्याएको थियो, वान एक्स बेट। न्युज कम्पनी भनिएको यो कम्पनी वानएक्स बेटसँग जोडिएर आलोचना पनि व्यहोरिरहेको छ। यस्तै विवादबीच लिग सुरु भयो। पहिलो लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए।

सुरक्षा थ्रेट, रकम जोह गर्न गएको अनेक बहाना देखाइरहेको छन्। तर फरार भएर गए पछि पनि एक करोड रुपैयाँ नेपाल पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!

प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा फिक्सिङ भएको देखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा लिगमा 'बेटिङ' हुने गरेको देखिएको हो। भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै 'बेटिङ'मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म 'अफर' गरेको समेत खुलेको छ। प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको छ। काठमाडौं नाइट्सका एकजना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलासा भएको छ। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एकजना खेलाडीलाई फिक्सिङको अफर आएको खुलासा गरेका थिए। त्यस्तै फिक्सिङ टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले 'स्पट फिक्सिङ' को दाबी गर्दै प्रतियोगिता छाडेको सार्वजनिक रुपमा नै घोषणा गरेका छन्। यसले पनि घटनालाई थप कसिलो बनाएको छ।

'हामी अनुसन्धान गरिरहेका छौं। यसलाई एउटा निष्कर्षमा पुगेर अनुसन्धान टुङ्ग्याउँछौं,' एआइजी सुवेदीले भने।

लिगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हेरिरहेको छ। विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषयले झनै चर्चा पायो। उसो त श्रम स्वीकृतिकै कागजपत्र नमिलेका कारण नियमित समया सुरु हुनुपर्ने लिग एकदिन पछि सरेको थियो। लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी अख्तियारमा परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ। अख्तियारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।

सुरुका खेलहरुमा फिक्सिङ भए पनि पछिल्ला खेलमा फिक्सिङ नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दोस्रो खेलबाट फिक्सिङ सुरु भएको देखिएको छ।

सट्टेबाजी गर्ने पनि समातिए

लिगको सुरुमा सट्टेबाजीको चर्चा भएपछि प्रहरीले  अनुसन्धान थालेको थियो। खेल मैदानमा नै बसेर सट्टेबाजी भएको जानकारी प्रहरीले पाएको थियो। त्यसैको आधारमा हरेक खेलमा प्रहरीले निगरानी बढाएको थियो। अहिलेसम्म प्रहरीले १५ जनलाई पक्राउ गरेको छ। सट्टेबाजीमा पनि भारतीय नागरिक देखिएका छन्।

सट्टेबाजी खेलाएको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतीक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किङ्सबीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो।

सिआइबीले डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन गरिरहेको छ। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell