PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ कार्यसूची



पहिलोपोस्ट

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं : निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमवार बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसो १ बजे संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्। बैठकको पहिलो कार्यको रुपमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ।

त्यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरु पनि संसद्मा पढेर सुनाइनेछ।

यसैगरी, प्रतिनिधिसभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुनेछ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा प्रतिनिधिसभा सदस्यहरुले आ-आफ्नो मन्तव्य राख्नेछन्।

प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र गरी २७५ जना सांसद छन्। सोमवारका लागि संसद सचिवालयले संसदमा भएका दलहरुलाई कुन पक्षमा बस्ने भनेर सोधेको थियो। नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी सत्ता पक्षको लहरमा बस्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र ३ जना स्वतन्त्र सांसद प्रतिपक्षको लहरमा बस्ने तय भएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमालाले जानकारी दिए।

संसद्मा प्रभु साह, अमरेश कुमार सिंह र योगेन्द्र मण्डल स्वतन्त्र सांसद छन्। साह र सिंह दुवैले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरे पनि विपक्षीमा बस्ने जानकारी सचिवालयलाई दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell