
ब्राजिलका पूर्व राष्ट्रपति जैर बोलसोनारोका समर्थकहरुले राजधानीमा रहेको सर्वोच्च अदालत र संसद भवनमा प्रवेश गरि तोडफोड गरेका छन्। उनीहरुले राष्ट्रपति भवन समेत घेरर प्रदर्शन गरेका थिए।
ब्राजिलमा दंगा भड्किएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। हाल प्रदर्शनकारीहरुलाई सो स्थानबाट हटाएर अवस्था नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
ब्राजिलका राष्ट्रपति लुला डि सिल्भाले प्रदर्शनमा सहभागी भएकाहरुलाई सजाय दिने बताएका छन्। प्रदर्शनमा सहभागी करिब २०० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
लुलाले केहीदिन अघि मात्रै राष्ट्रपतिको शपथ लिएका थिए। बोलसोनारो भने राष्ट्रपतिको शपथग्रहणमा सहभागी नभइ अमेरिका भागेका थिए।
प्रदर्शनपछि लुलाले सरकारी भवनहरु रहेको क्षेत्र २४ घण्टाका लागि बन्द गर्न निर्देशन दिएका छन्। प्रदर्शनकारीहरुले प्रयोग गरेका ४० भन्दा बढी बसलाई समेत नियन्त्रणमा लिइएको छ।
अमेरिकामा रहेका बोलसानारोले भने प्रदर्शनको विरोध गरेका छन्। उनले ब्राजिलमा भड्किएको हिंसाको जिम्मेवारी आफूले नलिने समेत बताएका छन्।