बुटवल : पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ। आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै, दुर्घटनामा घाइते हुनेहरुमा रम्भा गाउँपालिका–२ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका–१ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ट्रयाक्टर सडकबाट १५ मिटर तल खसेको डीएसपी थापाले बताए।