
काठमाडौं : चैत ४ गते नेपाल चलचित्र कलाकार संघको महाधिवेशन हुँदैछ। महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले दौडधुपमा व्यस्त छन्। संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ।
यसैबिच, वर्तमान अध्यक्ष रविन्द्र खड्काले पनि आगामी कार्यकालको लागि आफूले उम्मेदवारी दिने बताएका छन्। आफूले सुरु गरेका कामहरु अधुरा रहेकाले उम्मेदवारी दिने सोच बनाएको उनले बताए।
भने, ‘मेरो कार्यकालमा केही कामहरु बाँकी छन्। ती कामहरुलाई पुर्णतया व्यवस्थापन गर्न भएपनि मैले उम्मेदवारी दिनुपर्छ भन्ने इच्छा हो। सबैजनासँग सल्लाह गरेर अगाडि बढ्ने सोच बनाएको हुँ।’
अभिनेत्री रेजिना उप्रेतीले पनि चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। उनले फेसबुकमार्फत चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएकी हुन्। अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लागि लाग्ने उनको भनाई छ।
‘मेरो २४ वर्षको निरन्तरता संघको सदस्य, आजीवन सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइरहँदा यहाँहरु सबैको साथ र सहयोगको लागि आभारी छु,’ उनले लेखेकी छिन्।
त्यसैगरि, केही दिनअघि अभिनेता सविन श्रेष्ठले पनि चलचित्र कलाकार संघको अध्यक्षमा भिड्ने घोषणा गरेका थिए। उनले फेसबुकमार्फत उम्मेदवारीको घोषणा गर्दै आफू सधैँ नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हकहित, साथ सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने उल्लेख गरेका छन्।
कलाकार संघको आसन्न चुनावमा पाका कलाकारले पनि अध्यक्ष पदमा उठ्ने बताएका छन्। औपचारिक घोषणा नगरे पनि अध्यक्ष पदमा भिड्नको लागि तयारी भइरहेको उनले सुनाए। निरौला हाल संघको उपाध्यक्षका साथै प्रवक्ता समेत हुन्।
‘छिट्टै कलाकारहरुका सामुहिक एजेन्डाहरुसहित औपचारिक घोषणा गर्ने तयारीमा छु। म अहिले समग्र कलाकारहरुको वर्गीय हित र संघको संरक्षणको लागि वार्तामा छु। म संघको पुरानो मान्छे भएकाले सबै कलाकारहरुको सामुहिक एजेन्डाहरु समेट्नु मेरो दायित्व पनि हो’, उनले भने।
अध्यक्ष पदकै लागि कलाकार सुशान्त कुमार श्रेष्ठले पनि फेसबुकमार्फत नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। केही समयपछि एजेन्डा र प्रतिबद्धता पत्र समेत निकाल्ने उनले उल्लेख गरेका छन्।