
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिएका छन्। निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो दललाई दिएको विश्वासमा ठेस लाग्न नदिनेसमेत बताए।
‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘
सम्बोधनको क्रममा देउवाले प्रधानमन्त्रीमा नियुक्त भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै आफ्नो सरकारले गरेको कामको उपलब्धिसमेत सुनाए। ‘तपाईहरु सबै पाँच वर्षे कार्यकालमा जनताको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने कामना गर्छु। माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन चाहन्छु। उहाँको मन्त्रिमण्णललाई बधाई,’ देउवाले भने, ‘१८ महिने पहिले अप्रत्याशित विकसित घटनाक्रममा म प्रधानमन्त्री भएको थिएँ। निर्वाचन सकाएँ। प्रतिनिधि सभाको कार्यकाल पूर्ण भयो। स्थानीय तहको निर्वाचण भयो। पहिलोपटक प्रतिनिधि सभा प्रदेश सभाको पनि शान्तिपूर्वक सम्पन्न भयो। कोभिडबाट जनतालाई बचाउने काम पनि भयो। हर्ष र गौरव अनुभूति भइरहेको छ।‘
देउवाले संविधान कार्यन्वयनका लागि अझै कानुन निर्माण बाँकी रहेकोसमेत बताए। ‘निर्वाचन सफल पार्ने सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। संघीय लोकतान्त्रिक सुदृढीकरण आजको आवश्यकता हो,’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि निकै कानुन निर्माण बाँकी छ। माननीय साथीहरुमा अपिल गर्दछु। संविधानको सुरक्षामा सफल होस्।‘
सम्बोधनको क्रममा देउवाले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको योगदानलाई स्मरणसमेत गरे।