PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रतिनिधिसभामा ओलीले सरकार र सांसदहरुलाई सुनाए समस्याको चाङ : 'कुर्सीका लागि गोटी चालाचाल नगरौं, लेट्स वर्क टुगेदर'



पहिलोपोस्ट

प्रतिनिधिसभामा ओलीले सरकार र सांसदहरुलाई सुनाए समस्याको चाङ : 'कुर्सीका लागि गोटी चालाचाल नगरौं, लेट्स वर्क टुगेदर'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यहरुमाथि धेरै ठूलो जिम्मेवारी आएको बताएका छन्। आज प्रतिनिधसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा धेरै समस्या रहेको भन्दै त्यसको समाधान खोज्न प्रतिनिधिसभाबाट पहल हुनै पर्ने बताएका हुन्।

'देशको राजनीति लोकतान्त्रिक ढंगले अघि बढाउन, देश विकासको बाटोमा अग्रसर हुन, जनताको सेवामा अग्रसर हुन, त्यस दिशा तर्फ राजनीतिलाई ठिक ढंगले अघि बढाउनुपर्ने अभिभारा संसद सामु छ,' उनले भने।

उनले संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज नरहने भन्दै अहिले देशमा राष्ट्रियता सम्बन्धी प्रश्न उठिरहेको भन्दै त्यसको समाधान जनताले खोजेको बताए।

'कतिपय कामहरु, सामाजिक सांस्कृतिक पक्षहरु, विवधताको कुरा गरेरमात्र हुन्न। अब राष्ट्रिय संस्कृतिको कुरा गर्नुपर्ने छ। सामाजिक उन्नत संस्कृतिको रक्षा र सम्बर्द्धन गर्नुपर्नेछ,' उनले भने।

ओलीले आफ्नो सम्बोधनका क्रममा अर्थतन्त्र गम्भीर अवस्थामा रहेको समेत सुनाए।

'अर्थतन्त्र धेरै गम्भीर अवस्थामा छ। राजश्व उपयुक्त ढंगले उठिरहेको छैन। राजश्व असुली माइनसमा छ। यो गम्भीर कुरा हो। वैदेशिक मुद्दाको सञ्जिती डरलाग्दो छ। निर्यात हुनसकेको छेन। उद्योग बन्द छ। महंगी बढ्दो छ। त्यस्तो अवस्थामा प्रतिनिधिसभामा बस्दैछ। यी सबै कुराको समाधान खोज्नुपर्ने दायित्व हामीमाझ छ,' उनले भने।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको समेत सुनाए। तर, यति भन्दै गर्दा ओलीले सरकारसामु धेरै चुनौती रहेको नबिर्सन सुझावसमेत दिए।

'चुनौती छन् भनेर स्मरण गराउन चाहन्छु। सहज परिस्थिति छैन,' उनले भने, 'सुशासनको प्रत्याभूति,  भ्रष्टाचारविरुद्ध अभियान, सामाजिक विभेदको अन्त्य, आन्दोलनका घाउमा मलमपट्टी लगाउनु छ, जनताका अपेक्षा छन्। राजनीतिक बन्दीका समस्या छन्। शान्ति प्रक्रियाको समाधान गर्नुछ। समस्या छन्, भूमि सम्बन्धी समस्या, सुकुम्बासी, अपाङ्गता द्वन्द्व पीडित, शरीरमा गोली बोकेर बसेका छन्, आन्दोलनको असरबाट मुक्त भएको छैन, एकल महिला र पुरुष वृद्धवृद्धाहरु बालबालिका पढाइ हेरचाह पाइरहेका छैनन्। ती काम गर्नुपर्ने छ। हामी त्यता तिर हेर्छौं कि हेर्दैनौं कि कुसी तिर मात्र हेर्छौं।'  

ओलीले नेता र सांसदहरुले अब गम्भीर शिक्षा लिनुपर्ने समेत बताएका छन्।

'हामी मुख्य रुपमा लोकतान्त्रिक मुल्य मान्यतामा छौं। सांसद र नेताको समय गोटीचालाचालमा होइन, काम गर्ने बेला हो। गोली चाल्दै बस्ने हो भने काम कहिले गर्ने? एकताबद्ध भएर राष्ट्रिय निर्माणमा लागौं। लेट्स वर्क टुगेदर। देशका लागि सँगै काम गरौं,' उनले भने।

ओलीले प्रचण्ड नेतृत्वको सरकार भत्काउन नलाग्न चेतावनी पनि दिएका छन्।

'बन्न पाएको छैन बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बादी हुन्छ। हाम्रो समय रचनात्मक ढंगले उपयोग हुँदैन। देशको लागि उपयोग गरौं,' उनले भने।

ओलीले प्रतिनिधिसभामा नयाँ दलहरु आएकोलाई जनताले परिवर्तन खोजेको आभास भएको बताए।

'अहिले निर्वाचन पछि जसरी सरकार बन्यो, देशले नयाँ परिवर्तन खोजेको थियो। यो गठबन्धनबाट देखिएको छ। नयाँ पार्टीको उदयको कुराले। परिवर्तनको अपेक्षा जनताले गरेको देखिन्छ। किन आवश्यक छ भन्दा केही चाहना जनताले गरेका हुन्,' उनले भने 'पार्टी खोल्दैमा आउने होइन। अहिले नयाँहरुमा उन्नतिको ट्रेन्ड देखिएको छ। व्यक्तिको मान सम्मानको लागि होइन जनताको लागि काम गर्न राजनीति गर्नुपर्छ। बन्नका लागि बन्न होइन काम गर्न आएका हौं।'

सम्बोधनका क्रममा उनले 'जिरो टोलेरेन्स' महत्वपूर्ण भएको भन्दै सरकार न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए।

'विधिवत् ढंगले पोलिसी आउँछ त्यसबाट सरकार अघि बढ्नेछ। र यो सरकारले लोकतन्त्रको रक्षाको लागि लाग्छ। अहिलेको समीकरणले त्यसका लागि काम गर्छ,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell