PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसदमा धेरै साथी लिएर आउँछु भनेको थिए तर सकिनँ : राजेन्द्र लिङ्देन



पहिलोपोस्ट

संसदमा धेरै साथी लिएर आउँछु भनेको थिए तर सकिनँ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिलेको जनादेश सबै पार्टीलाई मिलेर काम गर्नुपर्ने खालको भएको बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमवार लिङ्देनले यस्तो भनाई राखेका हुन्।

‘अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न सकेन,’ लिङ्देनले भने, ‘र कुनै दललाई निषेध गरेर पनि जान सक्दैन। सबै मिलेर जानुपर्छ भन्ने जनादेश छ।‘

उनले आफूले अघिल्लोपटक संसद भवनबाट बिदा हुँदै गर्दा धेरै साथी ल्याउछु भनेर निस्केको घटनासमेत स्मरण गरे। लिङ्देनले सोचेजति धेरै साथी ल्याउन नसकेपनि जनताको साथ पाएको बताए।

‘अघिल्लो कार्यकाल संसद भवन छाड्दा धेरै साथी लिएर आउँछु भनेको थिए। धेरै त ल्याउन सकिनँ। तर जनताको भावनाको प्रतिनिधित्व गर्दै आएको छु,‘ लिङ्देनले भने।

अहिले विकास निर्माणको कुरा ठप्प रहेको उल्लेख गर्दै उनले जनताले विकास खोजेको बताए। ‘मल पाउन ठुलो भाग्यको कुरा जस्तो भएको छ। विकास निर्माण गति सुस्त थियो। अहिले भएको पनि ठप्प छ,’ लिङ्देनले भने, ‘वैदेशिक रोजगारमा जानेहरुको लाइन छ। राप्रपा मुलुकमा विकासको बाधक बन्ने छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell