
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो संघीय व्यवस्थाको पक्षमा रहेको बताएका छन्। आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संघीयतालाई सबल बनाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम गर्नेमा आफू आशावादी रहेको बताए।
उनले संघीयताबारे विश्वमा चर्चा नभएको बेलामा मधेशमा संघीय व्यवस्था रहेको दाबी गरे।
'विश्वमा गणतन्त्र सुरु नभएको बेलामा, प्लेटोले गणतन्त्र नलेखेको समयमा मधेशमा गणतन्त्र थियो। कपिलवस्तु गणतन्त्र थियो। त्यो खोसिएको थियो हामीले पुनर्स्थापना भएको हो। गणतन्त्र व्यवस्था प्रति उच्च समान छ,' उनले भने।
संघीयताको सवालमा नेपाल विविधता युक्त देश भएको भन्दे उनले भने, 'जातिय हिसाबमा, भौगोलिक हिसाबमा, नेपाल बहुराष्ट्रिय देश हो। संघीयता अपरिहार्य छ। अति आवश्यकता छ भन्ने जिवित प्रमाण म नै हुँ। त्यसैले यो सकरारले संघीयतालाई सबल बनाउनेमा म आशावादी छु।'
उनले नयाँ पार्टीका रुपमा आफूहरु संसदमा आएको भन्दै त्यो जनताको परिवर्तनको आकांक्षा रहेको पनि बताए।
'प्रधानमन्त्रीज्यूले नयाँ पार्टीसँग आवेग छ भन्नुभयो। हामी सँग आवेग मात्र होइन अग्रज प्रति सम्मान पनि छ। देखिएको आवेग जनताको परिवर्तनको आकांक्षा हो। सकारात्मक परिवर्तन ल्याउन सकुँ,' उनले भने।
संघीयता कार्यान्वयन राज्यबाट पहिला बाधा अवरोध भएको भन्दै आगामी दिनमा सरकारले त्यसलाई दबाउनु भन्दा संरक्षण गर्न लाग्नुपर्ने उनको मत थियो।