PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

संसदमा न्याय माग्दै रञ्जिता : 'टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्'   



पहिलोपोस्ट

संसदमा न्याय माग्दै रञ्जिता : 'टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्'   

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्।

'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्।

टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन्। रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्,  'सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन? टिकापुर घटनामा सबैभन्दा ठूलो क्षति थारुहरुको भयो। उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो।'

हाल जेलमा रहेका रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै रेशम चौधरीलाई 'निर्दोष' भएको भनिसकेको रञ्जिताले बताइन्।

'रेशम चौधरीलाई कसले निर्दोष भनेको छैन? निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?' उनले प्रश्न गरिन्।

आफू जनताको प्रतिनिधित्व गर्दै संघीय संसद भवनमा पुगेको भन्दै उनले न्याय माग्न आएको बताइन्।

'टिकापुर घटना बन्द कोठामा भएको होइन। देख्ने हजारौं आँखा छन्। कानुन थारुहरुलाई मात्र लाग्दो रहेछ। ५ वर्षदेखि रेशम चौधरीसहित अन्य थारुहरु जेलमा छन्। संसदबाट न्याय माग्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell