PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

'जता मल्के, उतै ढल्के' उर्फ दिपक मनाङे!



पहिलोपोस्ट

'जता मल्के, उतै ढल्के' उर्फ दिपक मनाङे!
फाइल फोटो

काठमाडौं : सांसद बनेपछि प्रदेश सरकारमा दीपक मनाङे कहिले खाली हात बस्नु परेन। अर्थात् जुन पार्टीको सरकार बने पनि उनी मन्त्री बनी नै रहे। पाँच वर्षे कार्यकालमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने को त? रेकर्ड मनाङेकै नाममा छ।

त्यतिमात्र कहाँ हो र? केही महिनाअगाडि सम्पन्न प्रदेश सभा निर्वाचनमा उनीविरुद्ध कुनै दलले उम्मेदवार नै दिएन। कांग्रेसदेखि कम्युनिस्टसम्म उनीप्रति नतमस्तक। कुनै बेला ‘डन’को पहिचान बनाएका दीपक ‘सर्वमान्य’ नेताका रुपमा स्थापित भए मनाङमा। कुनै दलको केही नचलेपछि  निर्विरोध चुनिएको रेकर्ड बन्यो उनको नाममा। मनाङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी पुन माननीय बनेका छन्।

गठबन्ध बनाएर निर्वाचनमा होमिएको कांग्रेस, माओवादी र समाजवादीलगायत पार्टीको पक्षमा जनमत आयो। सांसदको सङ्ख्यालाई 'क्याल्कुलेसन' गरे मनाङेले। बलियो कांग्रेस नेतृत्वको गठबन्धन नै लाग्यो उनलाई। अनि पुन सरकारमा जाने दाउ बनाए उनले। मनाङेले फेरि सरकारमा जाने चतुर्‍याइ देखाए र हतारहतार प्रवेश गरे एकीकृत समाजवादीमा।

तर उनले सोचे झैं गरी राजनीतिक कोर्स अगाडि बढेन। गठबन्धनबाट प्रधानमन्त्री नपाउने देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा पुगे। अर्को गठबन्धन बन्यो। एकीकृत समाजवादी भने छुट्यो। अन्ततः सरकार माओवादी र एमालेले लिड गरेर अगाडि बढ्यो। अनि एकाएक भंग भयो मनाङेको अर्को तिकडम।

एमालेसहितको गठबन्धनले आइतवार प्रदेश सरकारको भागबण्डा टुंगो लगायो। गण्डकीमा एमालेलेको नेतृत्वमा सरकार बन्यो। सोमवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ सहित सरकारमा गए। त्यसमा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन पनि पाए। केही महिना अगाडिमात्र समाजवादीमा प्रवेश गरेका मनाङेले फेरि स्वतन्त्रको हैसियतमा उनी सरकारमा गएका छन्। जता मल्के, उतै ढल्के भने झैं शक्तितिर लरक्क भए मनाङे। उनको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने पनि यो प्रष्टै हुन्छ। राप्रपादेखि कांग्रेससम्म चहारेका उनी अब एकीकृत समाजवादीबाट कता लाग्ने हुन्? अहिल्यै भन्न सकिने अवस्था छैन।

जसको नेतृत्व आए पनि मनाङे निरन्तर मन्त्री

जति नै छवि बिग्रिए पनि एमाले र कांग्रेसको सरकार निर्माणमा मनाङे ‘किङ मेकर’ बनिरहे। मन्त्री हुँदा उनका हर्कत चर्चामा आइरहे तर उनी फेरिएनन्। हो, उनी नफेरिँदा फेरिने पालो थियो एमाले र कांग्रेसको।

एमालेदेखि कांग्रेसले नेतृत्व गरेको सरकारमा उनी मन्त्री बनिरहे। गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पद नै धरापमा पार्ने भएपछि दीपक मनाङेलाई मन्त्री बनाए। मनाङेले खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए। फेरि अर्को बाटोबाट उनी नै दोहरिएर मुख्यमन्त्री भए। त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाए।

एमाले विभाजनपछि मनाङे विपक्षी गठबन्धनलाई सहयोग गर्न पुगे। त्यस्तै, उनी फेरि गठबन्धनको तर्फबाट मन्त्री बने। उनी अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री रहेका छन्। कांग्रेसको नेतृत्वमा बनेको सरकारमा पनि उनी अनवरत मन्त्री बनिरहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell