PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रतिनिधिसभाको पहिलो बैठक : प्रचण्डदेखि प्रभुसम्मको सम्बोधन, कसले के भने ?



पहिलोपोस्ट

प्रतिनिधिसभाको पहिलो बैठक : प्रचण्डदेखि प्रभुसम्मको सम्बोधन, कसले के भने ?

काठमाडौं : आज बसेको प्रतिनिधिसभाको पहिलो बैठक सकिएको छ। अर्को बैठक पुस २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ।

आजको बैठकमा १२ वटा राजनीतिक दलका अध्यक्ष एवम् प्रतिनिधिका साथै स्वतन्त्र सांसदहरुले सम्बोधन गरेका थिए।

कसले के भने?

नयाँको हुटहुटी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद हजारौं शहिदको त्यागमा निर्माण भएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संसदमा देखिएको विविधताले नेपालीहरुबिचको एकता देखाएको भन्दै भने,

'त्यो नै हाम्रो शक्ति हो। सम्मान बिना कृतिम एकताबारे कुरा गरे हामी विभाजनतिर लाग्नेछौं। हामी निरन्तर जनताको निगरानीमा छौं,' उनले भने।

प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको राजनीतिक दृष्टिकोण फरक भए पनि प्रतिबद्धता साझा भएको समेत बताएका छन्।

यसपटक प्रतिनिधिसभामा नयाँ दलहरु प्रवेश भएको उल्लेख गर्दै उनले नयाँ सांसदहरुको कामले संसदलाई चलायमान बनाउन सहयोग पुग्ने आशय व्यक्त गरेका छन्।

'नयाँ अनुहारको प्रवेश भएको छ। तपाईंहरुमा नयाँ आवेग र केही गरी छाड्ने हुटहुटी छ त्यो हुटहुटी रचनात्मक हुनेछ यो संसदको अर्जुनदृष्टि हुनेछ,' प्रचण्डले भने।

शेरबहादुरले सम्झे आफ्नो कार्यकाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिएका छन्। निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो दललाई दिएको विश्वासमा ठेस लाग्न नदिनेसमेत बताए।

‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘

सम्बोधनको क्रममा देउवाले प्रधानमन्त्रीमा नियुक्त भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै आफ्नो सरकारले गरेको कामको उपलब्धिसमेत सुनाए। ‘तपाईहरु सबै पाँच वर्षे कार्यकालमा जनताको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने कामना गर्छु। माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन चाहन्छु। उहाँको मन्त्रिमण्णललाई बधाई,’ देउवाले भने, ‘१८ महिने पहिले अप्रत्याशित विकसित घटनाक्रममा म प्रधानमन्त्री भएको थिएँ। निर्वाचन सकाएँ। प्रतिनिधि सभाको कार्यकाल पूर्ण भयो। स्थानीय तहको निर्वाचण भयो। पहिलोपटक प्रतिनिधि सभा प्रदेश सभाको पनि शान्तिपूर्वक सम्पन्न भयो। कोभिडबाट जनतालाई बचाउने काम पनि भयो। हर्ष र गौरव अनुभूति भइरहेको छ।‘

देउवाले संविधान कार्यन्वयनका लागि अझै कानुन निर्माण बाँकी रहेकोसमेत बताए। ‘निर्वाचन सफल पार्ने सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। संघीय लोकतान्त्रिक सुदृढीकरण आजको आवश्यकता हो,’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि निकै कानुन निर्माण बाँकी छ। माननीय साथीहरुमा अपिल गर्दछु। संविधानको सुरक्षामा सफल होस्।‘

सम्बोधनको क्रममा देउवाले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको योगदानलाई स्मरणसमेत गरे।

ओलीले सुनाए समस्या र गरे आफ्नै बचाउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यहरुमाथि धेरै ठूलो जिम्मेवारी आएको बताएका छन्। आज प्रतिनिधसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा धेरै समस्या रहेको भन्दै त्यसको समाधान खोज्न प्रतिनिधिसभाबाट पहल हुनै पर्ने बताएका हुन्।

'देशको राजनीति लोकतान्त्रिक ढंगले अघि बढाउन, देश विकासको बाटोमा अग्रसर हुन, जनताको सेवामा अग्रसर हुन, त्यस दिशा तर्फ राजनीतिलाई ठिक ढंगले अघि बढाउनुपर्ने अभिभारा संसद सामु छ,' उनले भने।

उनले संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज नरहने भन्दै अहिले देशमा राष्ट्रियता सम्बन्धी प्रश्न उठिरहेको भन्दै त्यसको समाधान जनताले खोजेको बताए।

'कतिपय कामहरु, सामाजिक सांस्कृतिक पक्षहरु, विवधताको कुरा गरेरमात्र हुन्न। अब राष्ट्रिय संस्कृतिको कुरा गर्नुपर्ने छ। सामाजिक उन्नत संस्कृतिको रक्षा र सम्बर्द्धन गर्नुपर्नेछ,' उनले भने।

ओलीले आफ्नो सम्बोधनका क्रममा अर्थतन्त्र गम्भीर अवस्थामा रहेको समेत सुनाए।

'अर्थतन्त्र धेरै गम्भीर अवस्थामा छ। राजश्व उपयुक्त ढंगले उठिरहेको छैन। राजश्व असुली माइनसमा छ। यो गम्भीर कुरा हो। वैदेशिक मुद्दाको सञ्जिती डरलाग्दो छ। निर्यात हुनसकेको छेन। उद्योग बन्द छ। महंगी बढ्दो छ। त्यस्तो अवस्थामा प्रतिनिधिसभामा बस्दैछ। यी सबै कुराको समाधान खोज्नुपर्ने दायित्व हामीमाझ छ,' उनले भने।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको समेत सुनाए। तर, यति भन्दै गर्दा ओलीले सरकारसामु धेरै चुनौती रहेको नबिर्सन सुझावसमेत दिए।

'चुनौती छन् भनेर स्मरण गराउन चाहन्छु। सहज परिस्थिति छैन,' उनले भने, 'सुशासनको प्रत्याभूति, भ्रष्टाचारविरुद्ध अभियान, सामाजिक विभेदको अन्त्य, आन्दोलनका घाउमा मलमपट्टी लगाउनु छ, जनताका अपेक्षा छन्। राजनीतिक बन्दीका समस्या छन्। शान्ति प्रक्रियाको समाधान गर्नुछ। समस्या छन्, भूमि सम्बन्धी समस्या, सुकुम्बासी, अपाङ्गता द्वन्द्व पीडित, शरीरमा गोली बोकेर बसेका छन्, आन्दोलनको असरबाट मुक्त भएको छैन, एकल महिला र पुरुष वृद्धवृद्धाहरु बालबालिका पढाइ हेरचाह पाइरहेका छैनन्। ती काम गर्नुपर्ने छ। हामी त्यता तिर हेर्छौं कि हेर्दैनौं कि कुसी तिर मात्र हेर्छौं।'

ओलीले नेता र सांसदहरुले अब गम्भीर शिक्षा लिनुपर्ने समेत बताएका छन्।

'हामी मुख्य रुपमा लोकतान्त्रिक मुल्य मान्यतामा छौं। सांसद र नेताको समय गोटीचालाचालमा होइन, काम गर्ने बेला हो। गोली चाल्दै बस्ने हो भने काम कहिले गर्ने? एकताबद्ध भएर राष्ट्रिय निर्माणमा लागौं। लेट्स वर्क टुगेदर। देशका लागि सँगै काम गरौं,' उनले भने।

ओलीले प्रचण्ड नेतृत्वको सरकार भत्काउन नलाग्न चेतावनी पनि दिएका छन्।

'बन्न पाएको छैन बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बादी हुन्छ। हाम्रो समय रचनात्मक ढंगले उपयोग हुँदैन। देशको लागि उपयोग गरौं,' उनले भने।

ओलीले प्रतिनिधिसभामा नयाँ दलहरु आएकोलाई जनताले परिवर्तन खोजेको आभास भएको बताए।

'अहिले निर्वाचन पछि जसरी सरकार बन्यो, देशले नयाँ परिवर्तन खोजेको थियो। यो गठबन्धनबाट देखिएको छ। नयाँ पार्टीको उदयको कुराले। परिवर्तनको अपेक्षा जनताले गरेको देखिन्छ। किन आवश्यक छ भन्दा केही चाहना जनताले गरेका हुन्,' उनले भने 'पार्टी खोल्दैमा आउने होइन। अहिले नयाँहरुमा उन्नतिको ट्रेन्ड देखिएको छ। व्यक्तिको मान सम्मानको लागि होइन जनताको लागि काम गर्न राजनीति गर्नुपर्छ। बन्नका लागि बन्न होइन काम गर्न आएका हौं।'

सम्बोधनका क्रममा उनले 'जिरो टोलेरेन्स' महत्वपूर्ण भएको भन्दै सरकार न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए।

'विधिवत् ढंगले पोलिसी आउँछ त्यसबाट सरकार अघि बढ्नेछ। र यो सरकारले लोकतन्त्रको रक्षाको लागि लाग्छ। अहिलेको समीकरणले त्यसका लागि काम गर्छ,' ओलीले भने।

यस्तै, ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको तर्क गरेका छन्। सम्बोधन गर्दै ओलीले आफूले गरेको विघटनको बचाउ गरेका हुन्।

‘एकताका नेपालमा हल्ला चलाइयो। प्रतिनिधिसभा विघटन प्रतिगमन भनेर, बेलायतमा धेरै भयो विघटन। त्यो प्रतिगमन होइन। जनताको अभिमतका लागि जनता कहाँ जानु प्रतिगमन होइन,’ ओलीले भने।

रविको 'कमिट्मेन्ट'

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू र आफ्नो दलका सांसदहरुले कुनै पनि अनियमितता तथा भष्ट्रचार नगर्ने वाचा गरेका छन्।

आज पहिलोपटक प्रतिनिधिसभाको रोस्टमबाट बोल्दै उनले छातिमा हात राखेर आफ्नो कार्यकालमा आफू र आफ्ना दलका सांसदले कुनै अनियमितता, भ्रष्टचार र काण्डहरुमा संलग्न नहुने बताएका हुन्। काम गर्दा कुनै वाचामा चुकेको खण्डमा पद र कुर्सीमा टाँसिएर नबस्ने र निर्मम कारबाहीका लागि समेत तयार रहेको उनले बताए।

'काम गर्न चुकेको खण्डबाट जनताबाट निर्मम कारवाही भोग्न तयार छौं। निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन समेत पुरा गर्छौं,' उनले बताए।

लामिछानेले सरकारमा टाँसिएर आफूहरु नबस्ने भन्दै भ्रष्टचारविरुद्धको अभियानमा साथ दिन गठबन्धनका सारथी दलहरुलाई अनुरोधसमेत गरेका छन्।

'आफ्ना मान्छे भन्दै कुनै गलत काम गरेको खण्डमा छुटाइदिन भन्दै नआउनु होला,' रविले भने।

उनले जनताको जनजीविकालाई सहजिकरण गर्न न्युनतम साझा कार्यक्रमबाट सरकार अघि बढ्ने बताएका थिए।

लिङ्देनको आशा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिलेको जनादेश सबै पार्टीलाई मिलेर काम गर्नुपर्ने खालको भएको बताएका छन्।

‘अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न सकेन,’ लिङ्देनले भने, ‘र कुनै दललाई निषेध गरेर पनि जान सक्दैन। सबै मिलेर जानुपर्छ भन्ने जनादेश छ।‘

उनले आफूले अघिल्लोपटक संसद भवनबाट बिदा हुँदै गर्दा धेरै साथी ल्याउछु भनेर निस्केको घटनासमेत स्मरण गरे। लिङ्देनले सोचेजति धेरै साथी ल्याउन नसकेपनि जनताको साथ पाएको बताए।

‘अघिल्लो कार्यकाल संसद भवन छाड्दा धेरै साथी लिएर आउँछु भनेको थिए। धेरै त ल्याउन सकिनँ। तर जनताको भावनाको प्रतिनिधित्व गर्दै आएको छु,‘ लिङ्देनले भने।

अहिले विकास निर्माणको कुरा ठप्प रहेको उल्लेख गर्दै उनले जनताले विकास खोजेको बताए। ‘मल पाउन ठुलो भाग्यको कुरा जस्तो भएको छ। विकास निर्माण गति सुस्त थियो। अहिले भएको पनि ठप्प छ,’ लिङ्देनले भने, ‘वैदेशिक रोजगारमा जानेहरुको लाइन छ। राप्रपा मुलुकमा विकासको बाधक बन्ने छैन।’

माधवको प्रश्न

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पाउने वा नपाउने भन्नेबारे प्रश्न गरेका छन्।

प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै नेपालले कार्यकाल कति दिन भन्ने कुरा आउनेसमेत बताए। ‘अब प्रश्न उठ्छ भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिन भन्ने आउला,’ नेपालले भने, ‘तपाईहरुको तपाईहरुको बहुमत पुगिसकेको छ। यो देशमा सबैले राजनीतिक स्थायित्वको अपेक्षा गरेका छन्।’

नेपालले प्रचण्ड नमुना काम गर्ने प्रतिबद्धता गर्दै अघि बढेकोले बोली र व्यवहारमा समानता आउनुपर्नेसमेत बताए। ‘प्रचण्डजीलाई बधाई। उहाँले नमुना काम गर्ने देखिने गरी काम देखाउने भनेर प्रतिबद्धता जनाउनुभएको छ। परिवर्तनको अनुभूति पाउने गरी अगाडि बढोस्। बोली र व्यवहारमा समञ्जस्यता आओस्,’ नेपालले भने।

नेपालले मिटरब्याजको समस्यालाई सरकारले सम्बोधन गर्न र उखु किसानको समस्यालाईसमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको सुझाव दिए। उनले राष्ट्रिय परिचयपत्र वितरण गर्न नसक्नु दुखद भएकोसमेत बताए।

रञ्जिताले मागिन् न्याय

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्।

'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्।

टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन्। रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्, 'सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन? टिकापुर घटनामा सबैभन्दा ठूलो क्षति थारुहरुको भयो। उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो।'

हाल जेलमा रहेका रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै रेशम चौधरीलाई 'निर्दोष' भएको भनिसकेको रञ्जिताले बताइन्।

'रेशम चौधरीलाई कसले निर्दोष भनेको छैन? निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?' उनले प्रश्न गरिन्।

आफू जनताको प्रतिनिधित्व गर्दै संघीय संसद भवनमा पुगेको भन्दै उनले न्याय माग्न आएको बताइन्।

'टिकापुर घटना बन्द कोठामा भएको होइन। देख्ने हजारौं आँखा छन्। कानुन थारुहरुलाई मात्र लाग्दो रहेछ। ५ वर्षदेखि रेशम चौधरीसहित अन्य थारुहरु जेलमा छन्। संसदबाट न्याय माग्छु,' उनले भने।

सिकेको जोड संघीय गण्तन्त्र

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो संघीय व्यवस्थाको पक्षमा रहेको बताएका छन्। आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संघीयतालाई सबल बनाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम गर्नेमा आफू आशावादी रहेको बताए।

उनले संघीयताबारे विश्वमा चर्चा नभएको बेलामा मधेशमा संघीय व्यवस्था रहेको दाबी गरे।

'विश्वमा गणतन्त्र सुरु नभएको बेलामा, प्लेटोले गणतन्त्र नलेखेको समयमा मधेशमा गणतन्त्र थियो। कपिलवस्तु गणतन्त्र थियो। त्यो खोसिएको थियो हामीले पुनर्स्थापना भएको हो। गणतन्त्र व्यवस्था प्रति उच्च समान छ,' उनले भने।

संघीयताको सवालमा नेपाल विविधता युक्त देश भएको भन्दे उनले भने, 'जातिय हिसाबमा, भौगोलिक हिसाबमा, नेपाल बहुराष्ट्रिय देश हो। संघीयता अपरिहार्य छ। अति आवश्यकता छ भन्ने जिवित प्रमाण म नै हुँ। त्यसैले यो सकरारले संघीयतालाई सबल बनाउनेमा म आशावादी छु।'

उनले नयाँ पार्टीका रुपमा आफूहरु संसदमा आएको भन्दै त्यो जनताको परिवर्तनको आकांक्षा रहेको पनि बताए।

'प्रधानमन्त्रीज्यूले नयाँ पार्टीसँग आवेग छ भन्नुभयो। हामी सँग आवेग मात्र होइन अग्रज प्रति सम्मान पनि छ। देखिएको आवेग जनताको परिवर्तनको आकांक्षा हो। सकारात्मक परिवर्तन ल्याउन सकुँ,' उनले भने।

संघीयता कार्यान्वयन राज्यबाट पहिला बाधा अवरोध भएको भन्दै आगामी दिनमा सरकारले त्यसलाई दबाउनु भन्दा संरक्षण गर्न लाग्नुपर्ने उनको मत थियो।

केसीको कटाक्ष

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि कसैमा इमानजमान नदेखिएको बताएका छन्। सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै केसीले गठबन्धनमासमेत इमानजमान नदेखिएको आरोप लगाए।

‘पानी खाएर छलफल भएको हो। १० गते गठबन्धन त भत्क्यो। के गर्नु? गठबन्धनको इमानजमान हुन्न? जुनसुकै मुल्य चुकाएर सत्तामा जाने,’ केसीले भने।

केसीले संसदको रोस्टममा उभिएर धेरैले चिप्लामीठा कुरा गर्ने तर व्यवहारमा नउतारेको उल्लेख गरे। ‘यो रोस्टमबाट भ्रष्टचार गर्नुपर्छ भनेर कसैले भनेको छैन, अनियमितता गर्नुपर्छ भनेर कसैले भनेको छैन,’ केसीले भने, ‘म यसपाली गरी चारपटक आएको छु। जसले जति मीठा चिप्ला बोले। यो सदाबहार कुरा हो। यो जनताले सुनिरहेको कुरा हो।‘

यसअघि नेताहरुले नेपाललाई स्विटजरल्यान्ड बनाउँछु भनेर दाबी गरे पनि मन्त्री र सांसद उत्पादक गर्ने कारखानामात्र भएको दाबी गरे।

‘नेपाललाई स्विटजरल्यान्ड बनाउँछु भनेर धेरैले पानी पिएर भनेका थिए। छ त त्यस्तो?’ केसीको प्रश्न थियो, ‘कारखाना मन्त्रीहरुको खोल्यो। देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने देशको आर्थिक अवस्था बलियो हुन्छ? कुन चाहि प्रधानमन्त्रीले भ्रष्टाचार बढाउनुपर्छ भनेको छ?’

अहिलेको राजनीतिले संघीयतासमेत नजोगिने केसीको दाबी रह्यो। ‘अहिले पनि राजनीतिक पार्टी नेताहरु प्रति जनताको आस्था छैन। हामीले यस्तै पाराले देश जोगाउन सक्दैनौ। संघीयता त जोगाउनै सक्दैनौ,’ केसीले ठोकुवा गरे, ‘संसदीय व्यवस्थाप्रति निराश छन् जनता।’

स्वतन्त्रको तर्क

स्वतन्त्र सांसद प्रभु साहले नेपाल अहिले गम्भीर आर्थिक संकटमा रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका शाह मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्रबाट लडेका थिए।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आर्थिक संकटदेखि निर्वाचनमा भएको अनियमितताबारेमा प्रश्न उठाए।

'निर्वाचन जसरी सम्पन्न भयो। त्यससँग जोडिएर आएका प्रश्नहरुको जवाफ दिनुपर्छ। नत्र निष्पक्षताबारे प्रश्न उठ्न सक्छ,' उनले भने, 'धाँधली भएका कुराले निष्पक्षतामाथि प्रश्न उठ्न सक्छ। मेरो क्षेत्रमा पनि धाँधली भयो। मतदातालाई बुथमा नै जान दिइएन। एजेन्टहरुलाई कुटेर पठाइयो। उम्मेवदार जान पाएनन्। को दोषी थिए?'

उनले निर्वाचनमा भएका धाँधली छानबिन गर्न मागसमेत गरेका छन्।

उनले नेपालमा नेपालीले भविष्य देख्न छाडेको भन्दै भने, 'नयाँ अनुहारबाट नयाँ आशा छ। पुराना पार्टीलाई नयाँ ढंगबाट जान प्रेरित गरेको छ। जुन समस्याबाट पैसाको हाहाकार, ऋणका कारण आत्महत्या गर्दैछन्। कहाँ गयो पैसा? अर्थतन्त्र संकटमा छ। यो सबैको समाधान गर्नुपर्छ। नेपाली जनताले नेपालमा भविष्य देख्न छोड्यो। नयाँ अनुहारबाट नयाँ नेपाल सम्भव छ?'

उनले बलियो नेतृत्व र स्थयित्वबाट मात्रै नेपालको विकास सम्भव हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell