PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

को हुन् वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री जमरकट्टेल?



पहिलोपोस्ट

को हुन् वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री जमरकट्टेल?

हेटौंडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई वाग्मतीको चौथो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गठबन्धनका घटक दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ११० सदस्यीय वाग्मती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनको लागि ५६ सांसदको समर्थन आवश्यक हुनेमा उनलाई ७० सांसदको समर्थन प्राप्त भएको हो। उनलाई एमालेको २७, माओवादीको २१ ,राप्रपाको १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।

को हुन् मुख्यमन्त्री जमरकट्टेल ?

यसअघिको सरकारमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन्। २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए। २०४८ सालबाट उनी मजदुर संगठनमा लागेका थिए भने औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका थिए। उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए। त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए।

बी.ए., बी.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेल मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका हुन्। २०६३ सालमा उनी पुनःस्थापित संसद्को अन्तरिम विधायिका भएका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका तत्कालिन नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए। यद्यपि, २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे।

यो पटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए। गठबन्धनको भागबन्डामा धादिङ १ मा अहिले एकीकृत समाजवादीमा रहेका राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उनी पुनः प्रदेशसभा सदस्यमा दोहोरिएका हुन्। र, त्यहाँबाट निर्वाचित हुँदै उनी वाग्मती प्रदेशको मुख्यमन्त्री भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell