PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मुख्यमन्त्री कृष्णचन्द्रको १८ महिने उपलब्धिः कामभन्दा धेरै विवाद



रिना थापा

मुख्यमन्त्री कृष्णचन्द्रको १८ महिने उपलब्धिः कामभन्दा धेरै विवाद
फोटोः मन्त्रालय  

पोखराः साढे तीन वर्ष प्रमुख प्रतिपक्षी दलको भूमिका निभाएको नेपाली कांग्रेस राजनीतिक परिघटनाले गण्डकी प्रदेशमा पनि नेतृत्वमा पुग्यो। २०७८ जेठ २९ गते कांग्रेसबाट गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भए। सरल छवि बनाएका कृष्णचन्द्र विवादित बन्दैनन् भन्नेमा विश्वास थियो सबैको। तर, मुख्यमन्त्री नियुक्त भएलगत्तै उनी विवादमा तानिए। गाडी खरिददेखि, आफन्तको नाममा प्रतिष्ठान बनाउन रकम विनियोजनदेखि करोडौँ रुपैयाँ रकमान्तरमा मुख्यमन्त्री विवादित बने।

पटक-पटक विवादित बनेका मुख्यमन्त्रीले मिडियासँग दुरी नै बनाए। कार्यकाल सकिँदै गर्दा सोमबार पत्रकार सम्मेलन गरी दोस्रोपटक पत्रकार सम्मेलनमा उपस्थिति भए मुख्यमन्त्री। जहाँ उनले आफनो कार्यकालको उपलब्धिको फेरिहास्त दिए। पत्रकार सम्मेलनमा उनको उपलब्धि बाहेक विवादित विषयमा प्रश्न उठ्यो।

नेतृत्वमा रहन र आउन भागबण्डा मिलाउन गण्डकीमा मन्त्रालय टुक्राइयो। मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री नियुक्त भएका कृष्णचन्द्र सुरुवातमा नै गाडी खरिदका विषयमा विवादित बने।

सोमबार पत्रकार सम्मेलनमा यस विषयमा आफ्नो भनाइ राख्दै मन्त्रीलाई साइकल चढ भन्न नमिल्ने बताए।

‘हामी आइसकेपछि आठ वटा हो कि नौ वटा गाडी थिए। कि त अब मन्त्री नै रहनुभएन। व्यवस्था नै गलत हो भन्नुपर्‍यो। सातवटा मन्त्रालयबाट १२ वटा मन्त्रालय बन्यो। मैले बनाएको पनि होइन त्यो अघिल्लो सरकारले बनाएको। म पनि गठबन्धनमा थिए कुनै महात्मा त होइन। तीनलाई साइकल चढ भन्न मिलेन गाडी दिएको हो,’ मुख्यमन्त्रीले भने।

आफू सरकारमा आएलगत्तै मुख्यमन्त्रीले रकमान्तर गरे। नागरिकलाई सरकारको आभाष दिलाउने योजना रहेको भन्दै कृष्णचन्द्रको सरकारले रातो किताबमा नभएको योजना उल्लेख गर्दै १६ करोड रुपैयाँ रकमान्तरण गरेको थियो ।

यस्तै केही समय अघिमात्र मुख्यमन्त्रीले आफ्नै पिताको ट्रष्टको नाममा बजेट विनियोजन गरेर आलोचित बने। मुख्यमन्त्रीका पिताको नाममा, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका पिता, जनमोर्चाकी सांसद पियारी थापाको परिवारको नाममा बजेट विनियोजन भएपछि उनी आलोचित बनेका थिए। चौतर्फी आलोचना भएपछि यो निर्णयलाई गण्डकी सरकारले सच्चायो। यही विषयलाई लिएर गण्डकीका उर्जामन्त्री हरिशरण आचार्यले विरोध गरे। पत्रकार सम्मेलन नै गरेर बजेट ‘झ्यालबाट आउन लागेको’ टिप्पणी दिएका थिए। पछि उनलाई चुनावमा नसघाएको भन्दै बर्खास्त गरियो।

मुख्यमन्त्री करको विषयमा पनि आलोचित बने। आर्थिक ऐन मार्फत कर र जरिवाना चर्को वृद्धि गरेका कारण कृष्णचन्द्रको सरकार आलोचित बन्न पुग्यो। नागरिकबाट नै कर वृद्धि सम्बन्धी चर्को आलोचना भएपछि यो निर्णयलाई पनि कृष्णचन्द्रको सरकारले सच्चयाउन बाध्य बन्यो।

विवादकै बीचमा कार्यकाल सकेका मुख्यमन्त्रीले आफनो कार्यकालमा गण्डकीको आर्थिक हिसाबले प्रगति गरेको बताए।

‘प्रदेशको नीतिले सबै कुरा हुन्छ भन्ने छैन। तर पनि प्रदेशको आर्थिक डाटा हेर्ने हो भने सन्तोषजनक छ। स्वस्थ्य क्षेत्रमा पनि राम्रो गरेको छ,’ उनले भने।

गण्डकी सरकारको नेतृत्व आफनो हातमा आए पनि एमाले सरकारले थालनी गरेको योजनालाई प्राथमिकतामा राखेको उनले बताए। गण्डकीको एक घर एक धाराको योजनालाई आफू नेतृत्वको सरकारले पनि प्राथमिकतामा राखेको भनाइ उनको थियो। यद्यपि यसमा उल्लेखनीय प्रगति भने देखिँदैन। अघिल्लो सरकारको समयमा गण्डकीको सो योजनाले ९३.१० प्रतिशत घरमा धारा पुर्‍याएको थियो। यता मुख्यमन्त्री कृष्णचन्द्रले पछाडिको अंक बढाउन मात्र सफल बन्दै ९३.७४ बनाएका छन्। महत्वपूर्ण भेटघाटदेखि स-साना टुक्रे योजनलाई पनि मुख्यमन्त्रीले आफनो १८ महिने उपलब्धिमा राखेका छन्।

अब गण्डकीको नेतृत्व एमालेबाट सांसद चुनिएका खगराज अधिकारीले लिँदै छन्। माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनसहित उनी सोमबार नै गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell