PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

खगराजलाई समर्थन गरेका मनाङे भन्छन्: दुई वर्षपछिको मुख्यमन्त्री म हो



रिना थापा

खगराजलाई समर्थन गरेका मनाङे भन्छन्: दुई वर्षपछिको मुख्यमन्त्री म हो

पोखराः गण्डकीको नेतृत्व लिने अकं गणितमा कुनै पनि दलको एकल बहुमत पुग्दैन। निर्वाचनको नतिजाले गण्डकीमा एक दलको मात्र नेतृत्वमा सरकार गठन गर्न सम्भव रहेन। एक दलको बहुमत नपुगे पनि गण्डकीमा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बन्यो। केन्द्रको परिदृश्यमा पनि यस्तै रह्यो। चुनावको नतिजा हेर्दा र गठबन्धन कायम रहे केन्द्रमा मात्र नभई गण्डकीमा कांग्रेस नेतृत्वको सरकार आउने पक्कापक्की थियो। २७ सिट जितेको कांग्रेसलाई गठबन्धन कायम रहेको अवस्थामा ८ सिट जितेको माओवादी केन्द्रसँग मिलेर सरकारमा जान सहज थियो। ६० सदस्यीय गण्डकीमा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ।

यसअघि गण्डकीको सरकार बनाउन र ढलाउन महत्वपूर्ण भूमिका खेलेका गण्डकीका खेलकुदमन्त्री दिपक मनाङेको अर्थ रहँदैन थियो। एमालेका पृथ्वीसुब्बा गुरुङको सरकार बचाउन र ढलाउन उनै दिपक निर्णायक बनेका थिए। आफनो उपस्थितिको महत्वका कारण उनको भागमा खेलकुद मन्त्रालयको जिम्मा पर्‍यो। पछि पृथ्वीसुब्बाको सरकार ढलाएर नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा सरकार बनाउन उनै निर्णयक बने। जसको लाभ, मन्त्रालय उनकै हातमा रह्यो। सांसदको पाँचवर्षको कार्यकाल सकिएपछि दिपक पुनः मनाङ २ बाट निर्विरोध निर्वाचित भए। त्यो पनि एमालेको समर्थनसहित। चुनावको नतिजाले गण्डकीमा उनी प्रतिपक्षीमा रहने सम्भावना देखायो। जसकारण नाफा हेर्दै उनी एकीकृत समाजवादीमा प्रवेश गरे। गण्डकीमा एकीकृतका कुनै पनि सांसदको प्रतिनिधित्व छैन। यसअघिको गठबन्धन कायम रहे एकीकृतबाट उनलाई लाभ हुने सम्भावना देखिन्थ्यो। तर, केन्द्रमा राजनीतिक समीकरण एकाएक बदलियो। गठबन्धनमा रहेको माओवादी केन्द्र एमालेसँग हात मिलाउन पुग्यो।

त्यसको नतिजा गण्डकीमा स्वतः पर्ने नै भयो। एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बने। उनले आजमात्र गण्डकीको मुख्यमन्त्रीको शपथ खाइसकेका छन्।

मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालयमा दिपक पनि खगराजसँगसँगै गए। प्रदेश प्रमुखले खगराजलाई मुख्यमन्त्री नियुक्त गरेपछि शपथ ग्रहण कार्यक्रम पनि उनी पुगे।

एमालेको सरकारलाई समर्थन गरेका दिपकले हाँसो गर्दै आफू दुई वर्षपछि गण्डकीको मुख्यमन्त्री भन्ने बताए।

‘कम्युनिस्ट नै हो म। कम्युनिस्ट मुख्यमन्त्री बनेको राप्रपा हो र? मैले आफनो एथिक्स बिर्सेको छैन। यो दाजुभाईको कुरा हो। दाइले दुई वर्ष खान्छ। त्यसपछि मैले हो,’ उनले हाँस्दै पत्रकारसँग भने।

चुनाव अगाडि नै एमाले र माओवादी केन्द्रको वार्ता मिलेको भए बहुमत सहित सरकार गठन गर्न सहज हुने दाबी उनको थियो।

‘माओवादी र कांग्रेस मिल्न गाह्रो छ। भोटर कन्फुयज बनाउन हुन्न हामीले। जस्तो यही चिज एक महिना अगाडि गरिदिएको भए बहुमत ल्याउँथ्यो। उनको बदमासीले कस्तो कस्तो नेता हारेन?,’ उनले भने।

नवनियुक्त मुख्यमन्त्री खगराजले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र दिपक मनाङको समर्थनसहित गण्डकीको नेतृत्व आफनो हातमा लिएका छन्। ३३ सांसदको समर्थन पाएका गण्डकी सरकारमा अहिलेको अवस्थामा दिपक मनाङे निर्णयक देखिँदैनन्। तर, राप्रपाले साथ छोडे दिपक निर्णयक भूमिकामा रहन्छन्। दिपक पनि राप्रपाले समर्थन छोड्नेमा विश्वस्त छन्। 

‘बीचमा आएर चेन्ज आउँछ कोही मान्छे भाग्छ। राप्रपाहरु राजा चाहियो भन्छ कहाँबाट ल्याउने। डुब्लिकेट बनाउने कुरा आएन। कहाँबाट ल्याउने हो राजा त्यसरी भाग्दै जान्छ। मधेशी दलको आफनो प्रबलम छ उनीहरु भाग्दै जान्छ। अहिले आत्तिनु पर्दैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell