PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि मंगलवार दाबी पेश हुने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताबिच भएको सहमतिअनुसार लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरीलाई मुख्यमन्त्रीको लागि बहुमतसहितको दाबी पेश गर्न लागेको हो। मंगलवार अपराह्न ४ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरिने एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ। सत्तारुढ गठबन्धन दलका नेताहरूको छलफलपछि सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने सहमति भएको ढकालले बताए। एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमत पार्टीसँगै नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गर्ने ढकालले बताए।

सम्भवतः प्रदेश प्रमुख शेरचनले आजै लुम्बिनीमा नेता गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने छन्। शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाउने सहमति छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार गत बुधवार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न ७ दिनको समय उपलब्ध गराएका थिए।

प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि दिएको समयसीमाको एकदिन अगाडि नै दलहरुले दावी पेश गर्न लागेका हुन्। शेरचनले भोलि २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समय दिएका छन्। प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुपर्नेछ।

केन्द्रको समीकरणअनुसार लुम्बिनीमा एमाले २९, माओवादी १०, राप्रपा ४, जनमत पार्टी ३, जसपा ३ नागरिक उन्मुक्ति ४ सांसद छन्। कांग्रेसका २७, लोसपा ३, नेकपा एकीकृत समाजवादी १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र २ सांसद रहेका छन्। प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell