PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता



रासस

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता
फाइल फोटो।

रामपुर (पाल्पा) : सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ।

सोमवार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका-७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका छन्। सो अवसरमा उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताए।

पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो। यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ।

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ।

साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ। तीन करोड ५० लाख रुपैयाँ बजेट आवश्यक भएपनि यस वर्ष मन्त्रालयबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

जिल्लामा पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका-६ का वडाध्यक्ष सागरमान महर्जनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell