
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई कांग्रेसले दिएको समर्थनमा शंका जनाएका छन्। आफ्नो पार्टी एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिने उल्लेख गर्दै समर्थनमा शंका जनाएका हुन्।
ओलीले कांग्रेसले गरेको समर्थन माछा नभएको खोलामा फालेको ‘ढोक्सा’ जस्तै नहुनहुनेसमेत बताए। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद विघटनमा गुरु मानेकोसमेत बताए।
यसअघि पटकपटक संसद् विघटन गर्ने इतिहास देउवाको भएकोले आफूले गुरु माने पनि उनैले आफूलाई हमला गर्नु सुहाउने विषय नभएको बताएका हुन्। ‘संसद् विघटन गरेर १९ माघको प्रतिगमनमा पुर्याएको देउवाजीले नै होइन? त्योभन्दा अगाडि पनि कतिपटक संसद विघटन भए? झन् गुरु मान्दा नै हमला?’ ओलीले भने, ‘मेरो मित्रलाई मैंले सम्झाएको मात्रै हो। यत्तिसारो स्थिरतावादी किन?’
ओली अघि बोलेका देउवाले ओली फेरि संविधान र व्यवस्थालाई चुनौती दिएपछि कांग्रेस विश्वासको मतको पक्षमा उभिएको बताएका थिए। यसको काउन्टरमा ओलीले देउवालाई आफ्नो गुरु भनेका हुन्। ओली आफूले दुईपटक गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन नभई स्वभाविक भएको जिकिर गर्दै आएका छन्।