काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशले खोजेको व्यक्ति प्रधानमन्त्री भएको बताएका छन्। आज प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउँदै उनले यस्तो बताएका हुन्।
'आशा अपेक्षा गरेको व्यक्ति पदमा आएपछि आत्तिनु पर्दैन,' उनले भने।
प्रचण्डलाई आफूहरुको समर्थन रहने बताए पनि उनले समस्याको चाङ भएको सुनाए। त्यसको समाधानमा सरकार लाग्नुपर्ने उनको मत थियो।
' प्रधानमन्त्रीज्यूले प्रतिबद्धताहरु अघि सारेका छन्। देश बनाउने जिम्मेवारी पाएका व्यक्तिले देश बतनाउने भिजन राख्नुपर्छ। सपना नदेख्ने र सपना साकार नपार्ने, मिसन नदेख्नेले देश बनाउँदैन। सपनाले मात्र हुँदैन विपनामा परिणत गर्न यथार्थको धरातलमा टेकेर समस्याहरु पहिचान गर्नुपर्छ। ती समस्याको उचित समाधान पनि खोज्नुपर्छ। हावादारी योजनाहरु ल्याउँछौं। साधन स्रोत हेर्दैनौं। बजेट छर्न थाल्छौं।'
उनले नेपालमा अधिकारको माग धेरे भएको तर कर्तव्य पालना गर्ने प्रति गम्भीर कोही नभएको बताए। विकासको गफ सुन्दासुन्दै जनता वाक्कदिक्क भइसकेको उनले बताए।
'कुरा कम गरौं। कुरा सुन्दा सुन्दै कान थाकिसक्यो। वाक्क दिक्क भइसक्यो। गफाडीका राजा पनि हामीलाई भन्न सकिन्छ,' उनले भने।
नेपालले सरकारलाई राष्ट्रियतालाई बलियो पार्ने, रोजगारी व्यवस्था गर्ने, जनजीविकाको समस्या समाधान गर्ने लगायतका विषयमा सुझाप पनि दिएका छन्।
नेपालले आफ्नो सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्षसमेत गरे। ओलीले प्रतिनिधसभा विघटन सही भएको भनेका थिए। नेपालले यस विषयमा गठबन्धन सरकारको धारणा के हो भन्दै प्रश्न समेत गरे।
'संसद विघटन गर्न पाइन्छ भन्ने करा सुनेँ। गठबन्धन दलको यसमा के मान्यता हो? के हो भारत, बेलायत हो? पुरानो नेपाल हो ? २०५८ सालको सरकार हो? नेपालमा प्रधानमन्त्रीलाई आफू खुशी संसद विघटन गर्ने अधिकार यो संविधानले दिएको छैन। सर्वोच्च अदालतले व्याख्या गरिसकेको छ,' ओलीलाई जवाफ दिँदै उनले भने।