PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

संसदमा प्रतिपक्षी खोज्दै चित्रबहादुर केसी : नेपालमा आज विचित्र भयो, यो डरलाग्दो दृश्य हो



पहिलोपोस्ट

संसदमा प्रतिपक्षी खोज्दै चित्रबहादुर केसी : नेपालमा आज विचित्र भयो, यो डरलाग्दो दृश्य हो

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा प्रतिपक्षी खोजेका छन्। मंगलवारको संसदलाई सम्बोधन गर्दै केसीले प्रचण्डको समर्थनमा सबै दल उभिएकोमा अचम्मसमेत माने।

‘कामको फेहरिस्त हामीलाई सुनाउनुभयो। यो कुनै नौलो कुरा होइन। बहुदलीय व्यवस्था आएपछि यस्तो फेहरिस्त धेरै सुनियो,’ केसीले भने, ‘अचम्मको कुरा संसदमा त प्रतिपक्षी हुन्थ्यो। नेपालमा विचित्र भयो भएभरका दलको समर्थनमा सरकार बन्ने भयो। सरकारमा भएकालाई हाइसञ्चो हुने भयो। यो कुन किसिमको सरकार बन्यो मैले ठम्याउनै सकिनँ।‘

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ‌ओलीको जुहारीले कतै दलहरु अर्कै खेलमा उत्रेको त हैन भनी केसीले प्रश्न गरे।

‘प्रतिगमन पनि हुन्छ भनेर उदाहरण पनि आयो। बलियो प्रतिपक्षी भएन भने त्यो सरकार निरंकुश हुन्छ। सबै साथीहरु सरकारमा बसेर विगतमा भएका ढाकछोप गर्ने पो हो कि?’ केसीको प्रश्न थियो, ‘लढमाथि गरेर एउटालाई पन्छाउने अनि अर्को माथि आउने ताल त हैन? यो डरलाग्दो दृश्य हो।‘

संविधानले अविश्वासको प्रस्ताव ल्याउन साढे २ वर्ष लागे पनि विश्वासको समर्थन फिर्ता लिन कुनैबेर नलाग्ने केसीले बताए। ‘दिएको समर्थन फिर्ता लिन त छेक्दैन संविधानले, थुत्न त बेर लाग्दैन। कतै यही खेलमा त हैन?’ केसीले भने, ‘पूर्वप्रधानमन्त्रीको जुहारीमा मैले त्यो देखें।‘ केसीले आफू एक्लै भए पनि विपक्षमा बसेर लड्ने उद्घोष गरे। ‘हामी विपक्षमा बस्छौ। म एक्लै भए पनि लड्छु,’ केसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell