
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति धेरै दलको समर्थन पाउँदा खुसी लागेको बताएका छन्। संसदमा रहेका संसदीय दलका नेताहरु र स्वतन्त्र सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले प्रधानमन्त्रीमा आफूलाई नसोचेको मत प्राप्त भएकोसमेत बताए।
‘मैले हिजो सिंगै हाउस मेरो पक्षमा उभिन्छ भनेको थिएँ। थाह पाएरै भनेको त थिएन। तर त्यस्तै भयो,’ प्रचण्डले भने, ‘अपार विश्वास र समर्थन न्यायपूर्ण ढंगले सम्बोधन गर्न सक्छु कि सक्दैन भन्ने मलाई लागिरहेको छ।‘
प्रचण्डले आफूले पाएको विश्वासमा न्यायोचित ढंगले काम गर्न नसक्ने हो कि भन्ने चेतना भने आफूमा भएको बताँए। ‘सत्ता साझेदारहरुको समर्थन हुने त थियो नै। तर प्रमुख प्रतिपक्षी र बाँकी दुई दल छाडेर सबैको समर्थन पाउने कुरा सोचिएको थिएन,’ उनले भने, ‘मैले यो जिम्मेवारी बोक्न सक्ने हो कि होइन?
न्यायोचित ढंगले काम गर्न नसके अप्ठेरो पनि हुन सक्छ।‘
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मतमा समर्थन गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्। संसदमा रहेका दुई सांसद नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलेमात्र प्रचण्डको विपक्षमा उभिएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १३८ मत चाहिन्छ। प्रधानमन्त्रीमा दाबी गर्दा प्रचण्ड सरकारलाई ७ दलका १६६ र ३ जना स्वतन्त्र गरी १६९ जनाको समर्थन थियो। अहिले कांग्रेसको ८९, एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जनता समाजवादीको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ४ र स्वतन्त्र ४ गरी २७१ सांसदको समर्थन प्रचण्डलाई हुने भएको छ।