PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेपाल टी २० लिगको फाइनलमा लुम्बिनी र विराटनगर भिड्ने



पहिलोपोस्ट

नेपाल टी २० लिगको फाइनलमा लुम्बिनी र विराटनगर भिड्ने

काठमाडौँ: नेपाल टी २० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्स र विराटनगर सुपरकिंग्स भिड्ने भएको छ। आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेलमा विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

आज सम्पन्न क्वालिफायर्सको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न विराटनगर सुपरकिंग्सले जनकपुर रोयल्सलाई ३९ रनले हरायो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२ रन बनाउँदा अर्जुन साउदले ३५, राज नाननले ३३ तथा हुसैन तलतले ३१ रन बनाए। बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिँदा शरफुद्दिन अस्रफ, ललित राजवंशी र समिउल्लाह शिनवरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटियो। जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रन बनाउँदा कप्तान ट्रेभोन ग्रिफ्फितले ३४ तथा खडक बोहोराले १४ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन नसक्दा जनकपुर १२८ रनमै समेटियो। जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन विराटनगरका केओन जोसेफले सर्वाधिक ३ विकेट लिँदा राज नानन र नन्दन यादवले समान २ विकेट तथा सूर्य तामाङ र हुसैन तलतले समान १ विकेट लिए।

जितसँगै विराटनगरले फाइनलमा स्थान बनाएको छ। बुधवार हुने फाइनल खेलमा विराटनगर सुपरकिंग्स र लुम्बिनी अलस्टार्स भिड्नेछ। लिग तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर्स खेलेको लुम्बिनीले जनकपुर रोयल्सलाई पहिलो क्वालिफायर्समा हराउँदै फाइनलको यात्र तय गरेको थियो। फाइनल खेल बुधवार दिउँसो १२ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell