
काठमाडौं : नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीशनरसिंह केसीले कांग्रेस नेतृत्वले कार्यकर्ताको आवाजमाथि कुठाराघात गरेको आरोप लगाएका छन्। केसीले सभापति शेरबहादुर देउवामाथि लक्षित गर्दै वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिएर प्रचण्डको डोला बोक्ने चरित्र देखाएको आरोप लगाएका हुन्।
प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि आफ्नो प्रतिक्रिया दिँदै केसीले भने, 'नेपाली कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने सारा कांग्रेसजनसहित कार्यकर्ताको आवाजमाथि कुठाराघात गर्दै, आखिर कांग्रेस नेतृत्वले वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरेर प्रचण्डको डोला बोक्ने चरित्र देखाएका छन्।' यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको डोला बोक्न तयार देउवाको रणनीति ओलीले तुहाइदिएको आरोपसमेत केसीले लगाए। 'यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई प्रधानमन्त्री बनाएर उनको डोला बोक्ने डोले–तत्परतालाई एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तुहाईदिएपछि नेतृत्वको यो पछिल्लो कांग्रेसघाती निर्णय देखियो,' केसीले भनेका छन्।
देउवाले संसदबाट खुँखार तानाशाह जन्माउने सुँडेनीको खेल खेलेकोसमेत आरोप लगाए। 'कांग्रेस नेतृत्वको ओहोदामा बिराजमान व्यक्तिले नै मूख्य प्रतिपक्षको अस्तित्वलाई मटियामेट गरेर सत्तासमक्ष लम्पसार पर्नु भनेको कांग्रेसले बरण गरेका मूल्य, मान्यता, सिद्धान्त, नीति र आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो। संसदबाट खुँखार तानाशाहको जन्म गराउने सुँडेनी खेल हो,' उनले भनेका छन्।
गठबन्धन भत्काएर गएका प्रचण्डकै टाङ अडाउनुपर्ने बाध्यता नेतृत्वमाथि कसरी आइलाग्यो भनी प्रश्नसमेत उनले गरेका छन्। 'आज प्रचण्ड नेतृत्वको गैर-कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनु पर्ने के बाध्यता थियो? आज प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो?' केसीले प्रश्न गरेका छन्, 'गठबन्धनका उम्मेद्वारलाई मत नदिने कांग्रेस नेता तथा कार्यकर्तालाई कारवाहीको डण्डा चलाउने ने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारवाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ? ईतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन। वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय दिने छैन। कांग्रेस नेतृत्वलाई सद्बुद्धि पलाओस्।'