PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली भाषाका १०८ कविता उर्दुमा प्रकाशित



पहिलोपोस्ट

नेपाली भाषाका १०८ कविता उर्दुमा प्रकाशित

विराटनगरः पाकिस्तान एकेडेमी अफ लेटर्स, इस्लामाबादले नेपाली भाषाका १०८ प्रतिनिधि कविका कविताको अनुवाद गराएर ‘नेपालकी आवाज’ नामको पुस्तक प्रकाशित गरेको छ।

पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीका अनुसार पाकिस्तान एकेडेमीले उर्दु भाषामा १०८ कविताको अनुवाद–संग्रह प्रकाशित गरेको हो।

संग्रहमा धरणीधर कोइरालाको ‘नेपाल’, महानन्द सापकोटाको ‘अब’, लेखनाथ पौड्यालको ‘पिँजराको सुगा’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, सिद्धिचरण श्रेष्ठको ‘आफ्नो परिचय’, भवानी भिक्षु ‘दुःखको कथा’, र केदारमान व्यथितको ‘चङ्गा’ शीर्षकका कविता समावेश गरिएका छन्।

त्यस्तै माधवप्रसाद घिमिरेको ‘काली गण्डकी’, विजय मल्लको ‘छोरीलाई नक्सा पढाउँदा’, भीमनिधि तिवारीको ‘जाग एसिया जाग’ र मोहन कोइरालाको ‘सारंङ्गी’ कविताको अनुवाद पनि संग्रहमा राखिएको छ।

त्यसैगरी पुरुषोत्तम सुवेदीको ‘लडाइँको पक्षमा, व्याकुल माइलाको ‘काठमाडौँमा हुने परिवर्तन’, दिनेश अधिकारीको ‘जाती’, नवराज लम्सालको ‘हर सालको एक उच्च हल्लाखल्ला’ र मोमिलाको ‘आफ्नो राष्ट्रिय मौन आवाजमा’ लगायतका कविता अनुवाद संग्रहमा समाविष्ट छन्।

कविताको अनुवाद जिया–उल–मुस्तफा तुर्क, सैयद कासिफ रजा र मुनिर फैयाजले गरेका हुन्।

आवरण सहित ३८५ पृष्ठको पुस्तकमा पछिल्ला १०० वर्षमा लेखिएका नेपालका मूर्धन्य साहित्यकारका कविताहरू समेटिएको राजदूत अधिकारीले जानकारी दिए।

अधिकारीले पाकिस्तानको राष्ट्रभाषामा नेपालका कविका रचना प्रकाशन गरिँदा नेपाली साहित्यकारको रचना र पहिचानको विस्तार हुने र पाकिस्तानी साहित्यकारलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्ने विश्वास व्यक्त गरे। सङ्ग्रहको प्रकाशनका लागि इस्लामावादस्थित नेपाली राजदूतावासले सहजीकरण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell