PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने



पहिलोपोस्ट

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो।

मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो। माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आलोपालो सरकारको नेतृत्व गर्न दुबै दलका शीर्ष नेताबीच सहमति भएको बताए।

पहिलो चरणमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नेछन्। गिरीले पहिलो साढे २ वर्ष र महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ। लुम्बिनी प्रदेश सभामा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद छन्।

एमाले संसदीय दलका नेता गिरीले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भए पनि महरा प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीलाई भेटन काठमाडौं पुगेपछि मुख्यमन्त्रीको दावी पेस गर्ने कार्यक्रम भोलिका लागि सारिएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ। सत्तारुढ गठबन्धनले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३, जसपाका ३,  स्वतन्त्र २ सहित ५५ सांसदको हस्ताक्षर जुटाएर दाबी पेस गर्ने तयारी गरेको छ।

प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ जना सांसद छन्।

प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका बुधबार ५ बजेसम्मका लागि समय दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell