PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जापान र दक्षिण कोरियालाई चीनको ‘प्रतिउत्तर’ : अल्पकालीन भिसामा लगायो प्रतिबन्ध



पहिलोपोस्ट

जापान र दक्षिण कोरियालाई चीनको ‘प्रतिउत्तर’ : अल्पकालीन भिसामा लगायो प्रतिबन्ध
Photo: fmprc.gov.cn

सांघाई : चीनले कोभिड-१९ विरुद्ध लिएको नीतिप्रति पश्चिमा देशहरुले आलोचना गरिरहेका छन्। ‘शून्य कोभिड नीति’बाट पछाडि हटेर चीनले कोभिड-१९ विरुद्ध लगाइएका प्रतिबन्धहरु फुकुवा गरेको छ। तर, पश्चिमा देशहरु चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै चिनियाँ तथा चीन भएर यात्रा गर्ने विदेशी नागरिकमाथि कडा नियम लगाइरहेका छन्।

अमेरिका, क्यानडा,  अष्ट्रेलिया, जर्मनी, दक्षिण कोरिया, जापान र भारतसहितका देशहरुले चिनियाँ यात्रु तथा चीनलाई ट्रान्जिट बनाएर यात्रा गर्नेहरुमाथि अनिवार्य रुपमा कोभिड-१९ परीक्षणको नियम लागू गरेका छन्। जर्मनीले त आफ्ना नागरिकलाई चीनको अनावश्यक यात्रामा नजान भनेको छ। साथै, दक्षिण कोरियाले चिनियाँ नागिकलाई दिँदै आएको अल्पकालीन भिसा जनवरी ३१ सम्मका लागि रोकेको छ।

यसको विरोध चीनले गरिरहेको छ। यसैको विरोध स्वरुप चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई दिँदै आएको अल्पकालिन भिसालाई खारेज गरेको छ। मंगलवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले ‘प्रतिउत्तर’मा उस्तै कदम चालिएको प्रतिक्रिया दिएका छन्।

‘अझै पनि केही देशहरु आफ्ना देशहरूमा वैज्ञानिक तथ्यहरू र महामारीको वास्तविक अवस्थालाई बेवास्ता गर्दै चीनविरुद्ध भेदभावपूर्ण प्रवेश प्रतिबन्धहरू अपनाउने कुरामा जोड दिइरहेका छन्। यो खेदपूर्ण छ’, मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘चीन यसको दृढतापूर्वक विरोध गर्दछ र पारस्परिक कदमहरु चाल्नेछ।’

अत्यन्त इमानदारीका साथ, चिनियाँ पक्षले सम्बन्धित देशहरूसँग तथ्यमा आधारित रहेर सम्पर्क गरिरहेको भन्दै उनले चीनले विज्ञानमा आधारित र व्यावहारिक कोभिडविरुद्धका उपायहरू परिष्कृत गरेको बताए।

‘अफसोसको कुरा, केही मुट्ठीभर देशहरूले विज्ञान, तथ्यहरू र तिनीहरूको वास्तविक महामारीको अवस्थालाई बेवास्ता गर्दै, चीनलाई लक्षित गरी भेदभावपूर्ण प्रवेश प्रतिबन्धका उपायहरू लिन जोड दिएका छन्,’ उनको भनाइ थियो।

उनले सम्बन्धित देशहरूलाई तिनीहरूको कोभिड प्रतिक्रियाका उपायहरू तथ्यमा आधारित, विज्ञानमा आधारित र समानुपातिक छन् भनी सुनिश्चित गर्न आह्वान गरे। प्रवक्ता वाङले यसलाई राजनीतिक हेरफेरको बहानाको रूपमा प्रयोग नगर्नसमेत चेतावनी दिए।

‘यो भेदभावपूर्ण हुनु हुँदैन र सामान्य सीमापार यात्रा र जनता-जनताको आदानप्रदान र सहयोगलाई असर गर्नु हुँदैन,’ उनले भने।

उनले जनवरी ४ सम्म चीनमा ३ अर्ब ४८ करोड डोज खोप वितरण भएको र १ अर्ब ३९ करोड जनताले खोप पाएको जानकारी दिए। त्यस्तै, १.७ बिलियन लक्षित समुदायहरु पूर्ण रुपमा खोप पाइसेको र जुन ९२.९ प्रतिशत रहेको उनले बताए।

उनले जनता पहिलो र जीवन पहिलो भन्ने सिद्धान्तबाट निर्देशित भई चीनले कोभिड-१९ विरुद्धका प्रतिकार्यलाई विज्ञान सम्बत तरिकाले परिस्कृत गरिएको दाबी गरे। चीनले जापान र कोरिया विरुद्ध लगाएको प्रतिबन्ध अरु देशहरुमा लागू गर्न सक्ने उनले चेतावनी दिए।

गत वर्ष डिसेम्बर ७ बाट कोभिड-१९ विरुद्धको नीतिमा परिवर्तन गर्दै चीनले खुला नीति अपनाउन थालेको छ। त्यस्तै, जनवरी ८ देखि अन्तर्राष्ट्रिय यात्रुमाथि लगाउँदै आएको अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाईसमेत हटाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell