PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नवनियुक्त चिनियाँ विदेशमन्त्री छिन काङले अफ्रिकाबाटै किन सुरु गरे पहिलो विदेश भ्रमण?



विधुर ढकाल

नवनियुक्त चिनियाँ विदेशमन्त्री छिन काङले अफ्रिकाबाटै किन सुरु गरे पहिलो विदेश भ्रमण?
File Photo: Catalina Fragoso/NBAE via Getty Images/AFP

सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ आफ्नो पहिलो विदेश भ्रमणका लागि अफ्रिका निस्किएका छन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका छिङ गत डिसेम्बर ३० मा मात्र चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका थिए। उनी विदेश मन्त्रीको जिम्मेवारी सम्हालेसँगै अफ्रिकी देशको साता व्यापी भ्रमणमा निस्किएका हुन्।

सोमवार राति पहिलो विदेश भ्रमणमा निस्किएका उनी केहीसमय बंगलादेशको ढाकामा केही समय ओर्लिए। ढाका विमानस्थलमा उनले त्यहाँका विदेशमन्त्री अबुल कलाम अब्दुल मोमेनसँग भेट गरेका थिए। भेटमा चीन र बंगलादेशबिचको मित्रताको उच्च चर्चा गर्दै नयाँ वर्षमा आदानप्रदानलाई बलियो बनाउन र द्विपक्षीय सम्बन्धमा नयाँ प्रगतिका लागि संयुक्त रूपमा काम गर्न सहमत भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

यद्यपि, उनको यो ढाका भ्रमण औपचारिक भ्रमण नभए पनि मंगलवार बिहान १:५८ बजे उनी सवार विमान ढाका विमानस्थलमा अवतरण भएको थियो। चीनले यसलाई ‘टेक्निकल स्टप’ भनेको छ। विमानस्थलमा उनको स्वागतका लागि बंगलादेशी समकक्षी विमानस्थल पुगेका थिए। विदेशमन्त्री छिङ त्यहाँबाट २:५० बजे अफ्रिकाका लागि प्रस्थान गरका थिए।

भ्रमण ३३ वर्ष देखिको निरन्तरता

यसैबिच, विदेशमन्त्री छिङको यो भ्रमण ३३ वर्ष यताको निरन्तरता हो। हालसम्म चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका नेताहरु पहिलो गन्तव्य अफ्रिकी देशलाई बनाउँदै आएका छन्।

‘यो लगातार ३४औँ वर्ष हो कि अफ्रिका चिनियाँ विदेश मन्त्रीहरूको वार्षिक पहिलो विदेश भ्रमणको गन्तव्य हो,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

‘यसले चीन अफ्रिकासँगको आफ्नो परम्परागत मित्रता र चीन-अफ्रिका सम्बन्धको विकासलाई कत्तिको महत्त्व दिन्छ भन्ने देखाउँछ। चीन-अफ्रिका सम्बन्ध सुदृढ भएको छ र दुवै पक्षले साझा भविष्यसहितको उच्चस्तरीय चीन-अफ्रिका समुदाय निर्माण गर्ने नयाँ युगको सुरुवात गरेका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भनेका छन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री छिङ काङले पाँच अफ्रिकी देशका नेता तथा विदेशमन्त्री र अफ्रिकन युनियन आयोगका अध्यक्षसँग भेटघाट र वार्ता गर्नुका साथै द्विपक्षीय सम्बन्ध र आपसी सम्बन्धका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा आदानप्रदान गर्नेछन्।

यो भ्रमणका क्रममा मन्त्री छिङले अरब लिगका महासचिवसँगसमेत भेट गर्ने कार्यक्रम रहेको छ। अफ्रिकी देशको भ्रमणका क्रममा उनी इथियोपियाको राजधानी आदिस अबाबमा मंगलवार पुगेका छन्। त्यहाँ उनले समकक्षी अबी अहमद अलीसँग भेटवार्ता गरे।

३३ वर्ष अगाडि नै १९९१ मा तत्कालिन चिनियाँ उपप्रधान तथा विदेशमन्त्री छियान छिचनले इथियोपियाबाट भ्रमणको सुरुवात गरेका थिए। ३३ वर्ष पछि विदेश मन्त्री छिङले पुन: इथियोपियाबाटै भ्रमणको सुरुवात गरेका हुन्।

१९९१ यता हरेक नयाँ वर्षको सुरुवातमा नै चिनियाँ विदेश मन्त्रीले अफ्रिकी देशलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन्। त्यतिबेला विदेशमन्त्री छियानले इथियोपियासहित युगान्डा, केन्या र तानजानियाको भ्रमण गरेका थिए।

१९९८ सम्म विदेश मन्त्रालयमा रहेका उनले १९९२ मा माली, ग्युनिया, सेनेगल, कोटे दी आइभरी, घाना र नामिवियाको भ्रमण गरे। १९९३ को सुरुवातमै ओमान माउरिटानिया, कामरुन, गाबोन, बुरुन्डी र रुवान्डा पुगेका उनी १९९४ मा इथियोपिया, इरिटिया, सुडान, केन्या, माडागास्कर र मरिसस पुगे।

त्यसयता हरेक नयाँ वर्षसँगै चिनियाँ विदेशमन्त्रीहरु पहिलो गन्तव्यको रुपमा अफ्रिकी देश पुगेका छन्। २०२२ को जनवरी ५ मा तत्कालीन विदेश मन्त्री वाङ यीले इरिटियाबाट विदेश भ्रमणको सुरुवात गरेका थिए। उनी त्यतिबेला केन्या र कोमोरोस पनि पुगेका थिए।

२०२१ को कोभिड कालमै वाङ यी आफ्नो वर्षको पहिलो गन्तव्य नाइजेरिया बनाए। जनवरी ५ मै उनी नाइजेरिया पुगेका थिए। उनले त्यतिबेला तानजानिया, डीआर कंगो, बोत्स्वाना, सेशेल्सको भ्रमण गरेका थिए।

त्यस्तै, जनवरी ७ देखि अफ्रिकी मुलुक इजिप्टको भ्रमण गरेर विदेश मन्त्री वाङले २०२० को भ्रमण तालिका खोलेका थिए। त्यतिबेला उनले दिजिबुटी, इरिट्रिया, ब्रुन्डी र जिम्बावेको भ्रमण गरेका थिए।

२०२३ को भ्रमणको सुरुवात इथियोपियाबाट गर्दै विदेशमन्त्री छिङ गाबोन, अंगोला, बेनिन र इजिप्ट पुग्ने छन्। उनले भ्रमणका क्रममा अफ्रिकन युनियन र लिग अफ अरब स्टेटसका मुख्यालयसमेत पुग्ने छन्।

यो भ्रमणले चीनले दुई मुख्य क्षेत्रीय समूहलाई प्राथमिकतामा राखेको प्रष्ट हुन्छ। चीन पछिल्लो १३ वर्षसम्म लगायतार अफ्रिकाको ठूलो व्यापार साझेदार हो। २०२२ को पहिलो अर्धवार्षिकीमा चीन र अफ्रिकाबिचको व्यापार १३७.३८ बिलियन डलर पुगेको थियो। 

‘हाल, चीन-अफ्रिका सम्बन्ध फस्टाउँदैछ र साझा भविष्यको साथ उच्च-स्तरीय चीन-अफ्रिका समुदाय निर्माणको नयाँ युगमा प्रवेश गरिरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले भनेका छन्। 

चीनले इमानदारीता, वास्तविक परिणाम, मित्रता र असल विश्वासको सिद्धान्त एवं बृहत्तर असल र साझा हितहरू पछ्याउने सिद्धान्तलाई निरन्तरता दिने उनले बताएका छन्।

त्यस्तै, इजिप्ट भ्रमणका क्रममा विदेशमन्त्री छिङले लिग अफ अरब नेसनका महासचिवसँग भेट गर्ने छन्। गत डिसेम्बर ९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङले साउदी अरबको भ्रमण गरी चाइना-अरब समिटमा सहभागी भएका थिए।

नयाँ युगमा साझा भविष्यसहितको चीन-अरब समुदाय निर्माण गर्न, विकासोन्मुख राष्ट्रहरूको साझा हितको रक्षा गर्न र विश्व र क्षेत्रीय शान्ति र स्थायित्वको प्रवर्द्धन गर्न चीनले अरब जगतसँग मिलेर काम गर्न इच्छुक रहेको प्रवक्ता वाङले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell