
काठमाडौं : प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी भ्रातृ संगठन योङ कम्युनिस्ट लिग(वाइसिएल)लाई विश्वासको मतबारे ब्रिफिङ गरेका छन्। गोरखा जानुअघि वाइसिएल केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विश्वासको मत एतिहासिक भए पनि निकै चुनौतिपूर्ण अवसर भएको बताएका छन्।
‘त्यसको धेरै दुरगामी अर्थ छ। निकै ठुलो महत्व छ। तपाईहरुले महसुस गर्नुभएको होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक हामीलाई इतिहासमा एकचोटी चुनौतिपूर्ण अवसर प्राप्त भएको छ। यो अवसरमात्र हैन चुनौति धेरै छन्, धेरै जटिलता पनि छन्।‘
पहिलोपटक प्रधानमन्त्री बन्दा राम्ररी काम गर्न नपाएको उल्लेख गर्दै प्रचण्डले दोस्रोपटक केही मानक स्थापना गरेको दाबी गरे। ‘एउटा परिस्थितिमा राजीनामा दिनुपर्यो पहिले,’ उनले भने, ‘दोस्रोपटक प्रधानमन्त्री बन्दा केही मानक स्थापना गर्यौ। लोडसेडिङ अन्त्य भयो।‘
अबको पाली सामाजिक न्याय, सुशासन र समृद्धिको युगका रुपमा देशलाई नयाँ उचाईमा लानुपर्ने प्रचण्डको भनाई रह्यो। यसका लागि अध्यक्ष र प्रधानमन्त्री एकजनाले नसक्ने उनले बताए। ‘सामाजिक न्यास सुशासन र समृद्धिको युगका रुपमा शुरु गर्नुछ,’ प्रचण्डले भने, ‘यो एउटा अध्यक्ष र प्रधानमन्त्रीले मात्र गर्न सकिँदैन। हिजोको सफलता युवाहरुको साथबाटै भएको थियो। हाम्रो भरोसा तपाईहरुमाथि छ।‘
युवाहरुको साथबाटै जनयुद्ध सफल भएको प्रचण्डले दाबी गरे। ‘हामी आवेगमा आएर गरेको निर्णय हैन युवाहरुलाई २० प्रतिशत राखेर,’ उनले भने, ‘जनयुद्धमा राज्यको किलोसेरा २ अपरेसन चल्दा कति त निराश थिए। अब सकिँदैन कि भनेर। युवालाई केन्द्रीय समितिमा ल्याएपछि नयाँ विश्वास पैदा भयो। र आन्दोलनले नयाँ उचाई लियो।‘
आफू र पार्टी प्रतिक्रियावादीको घेरालाई तोड्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै प्रचण्डले वाइसिएललाई सरकार र पार्टीको सहयोग रहने बताए। ‘प्रतिक्रियावादीको घेरालाई तोड्दै यहाँ आइपुगेको छु। पार्टी र सरकारले गर्नुपर्ने सहयोग हुन्छ,’ प्रचण्डले भने।