PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’



निशा गुरुङ

पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’

हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएसँगै पुराना मन्त्रीहरु पदमुक्त भइसके। राजेन्द्र पाण्डेले सरकार छाडेको दिन गन्ने हो भने चार दिन पुग्यो सरकार मन्त्रीहरु निवर्तमान बनेको।

सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा वाग्मतीको बागडोर सम्हालिसकेका छन्। नयाँ सरकार आएसँगै पूर्ववर्ती सरकारका मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ। तर पाण्डे नेतृत्वको सरकारमा मन्त्री रहेकी कुमारी मोक्तान भने सरकारी गाडीमै सरर हुँइकिरहेकी छिन्। अझ नम्बर प्लेट 'मोडिफाइ' गरेर। उनी मन्त्री हुँदा प्रयोग हुने गाडी नम्बर हो – बागमती प्रदेश ३००१ झ ००७७। मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई अहिले सेतो बनाइएको छ। नम्बर उही।

यही सवारी हुँदै प्रदेशमा सामाजिक विकास मन्त्री रहेकी मोक्तान बुधवार पार्टी कार्यालय पुगिन्। बिहान ११ बजे नै उनी पार्टी कार्यालय घाम ताप्दै थिइन्। वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्व पाएपछि त्यही आडमा उनले आफ्ना कार्यकाल सकिँदा पनि सरकारी गाडीमा घरदेखि पार्टी कार्यालय, पार्टी कार्यालयदेखि घरसम्म पुगेर कार्यकर्ताहरुसँग गफ गर्न व्यस्त छिन्।

बुधवार सार्वजनिक बिदाको दिन हो। सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिएको हो। एक त मन्त्रालयबाट बिदा लिइसकेकी उनले सरकारी गाडीको प्रयोग गरिरहेकी छिन् भने अर्को बिदाको दिन सरकारी नम्बर प्लेटको गाडीको प्रयोग। उनले यो प्रवृत्तिले पूर्वमन्त्रीहरु लज्जित बन्नुपरेको निवर्तमान मन्त्रीहरु नै बताउँछन्।

फेरि मन्त्री बनेर फर्किने बताएकी थिइन् कुमारीले!

मुख्यमन्त्री कार्यालयले मन्त्रालयका सचिवहरुलाई पदमुक्त भएकै दिन गाडी फिर्ता गर्न निर्देशन दिएको थियो। पदमुक्त भएकै दिन वाग्मती प्रदेशको प्रशासन तथा बैठक महाशाखाले मन्त्रीहरुलाई सवारी साधन यथाशीघ्र कार्यालय फिर्ता पठाउन यस्तो निर्देशन जारी गरेको थियो – श्रीमान सचिवज्यू, श्रीमान प्रमुख सचिवज्यूको आदेशअनुसार त्यहाँ मन्त्रालयमा रहेको माननीय मन्त्री तथा राज्यमन्त्रीज्यूले प्रयोग गर्दै आउनुभएको सवारीसधान यथाशीघ्र यस कार्यालयमा फिर्ता पठाइ दिनुहुन जानकारी गराइन्छ।

नैतिकताको आधारमा गाडी फिर्ता गर्नुपर्ने एक निवर्तमान मन्त्री बताउँछन्। ‘नैतिकताकै आधारमा गाडी फिर्ता गर्नुपर्छ,’ ती मन्त्रीले भने।

उनीसँगै पदमुक्त भएका अरु मन्त्रीहरुले सोही दिन मन्त्रालयमै गाडी छोडेर आआफ्नो घर गइसके। तर कुमारी भने पदबाट हटे पनि उनले सोही गाडीमा सरर दौडिरहेकी छिन्।

त्यसो त कुमारी मकवानपुर २ 'क' बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। प्रदेशसभा सदस्यले सेवासुविधा स्वरुप सरकारी गाडी पाउने कुनै व्यवस्था प्रदेशमा छैन। जबकि वाग्मती प्रदेशले हालसम्म निर्वतमान मुख्यमन्त्रीलाई समेत त्यस्तो खालको सुविधा दिएको छैन।

जिल्ला प्रशासन कार्यालयका प्रमुख राजेन्द्रदेव पाण्डेले सम्बन्धित मन्त्रालयले दिने गाडी भएकोले मन्त्रालयकै सचिवहरु जिम्मेवार हुनुपर्ने बताए। गृह मन्त्रालयबाट निर्देशन आएपनि कुन मन्त्रीले गाडी फिर्ता नगरेको भन्ने विषयमा मन्त्रालयका सचिवहरुले जानकारी दिनुपर्ने उनको भनाई थियो। कुमारीले आफू मन्त्रीबाट बिदा लिँदै गर्दा फेरि मन्त्री बनेर फर्कने दाबी गरेकी थिइन्।

‘म स्वास्थ्य मन्त्री भएर फर्किन्छु,’ उनको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने।

मुख्यमन्त्री कार्यालयले मन्त्रालयका सचिवहरुलाई पदमुक्त भएकै दिन मन्त्रीहरुले प्रयोग गर्दै आएका सवारीसधान तत्काल फिर्ता पठाउन निर्देशनसमेत दिइसकेका छन्।

इतिहासकै सबैभन्दा बढी १४ मन्त्री बनाएर झ्यालझ्यालमा मन्त्रालय राखेर विवादित बनेका मुख्यमन्त्री पाणेडे त्यतिमै सीमित भएनन्। प्रतिनिधि सभाको सदस्यमा शपथ लिइसक्दासमेत मुख्यमन्त्री छाडेनन्। चौतर्फी विरोध र दबावपछि उनले राजीनामा त दिए तर जिम्मेवारी भने आफ्नै नियन्त्रणमा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell