PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त को हुन् लिला गिरी?



रमेश पराजुली

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त को हुन् लिला गिरी?

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन्।

सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनको शपथ भोलि बिहीबार दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नेता गिरीले ५८ सांसदको समर्थनसहित आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदको समर्थन रहेको छ। साढे २ वर्षपछि माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछन्।

नेता गिरी एमालेका पोलिटब्यूरो सदस्यसमेत हुन्। २०३१ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित नेता गिरीलाई यस क्षेत्रका सालिन, इमानदार र अनुभवी नेता मानिन्छ। रुपन्देही क्षेत्र नम्बर २ (क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै निर्वाचित गिरी ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसअघि नेता गिरीले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।

को हुन् गिरी?

गुल्मीको रुरु गाउँपालिका–५ बम्घामा वि.सं.२०११ सालमा जन्मीएका नेता गिरी किसान आन्दोलनबाट उदाएका हुन्। गिरीको परिवार ०३४ सालदेखि रुपन्देहीमा बसोवास गर्दै आएका छन्। कृषिमा विविधिकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल राख्ने गरेका गिरीले स्नातक सम्मको अध्ययन गरेका छन्।

बाल्यकालदेखिकै राजनीतिप्रतिको जागरण

२०२२ सालमा गुल्मी जिल्लामा तत्कालीन विभेदयुक्त सामाजिक व्यवस्थाका विरुद्धको आन्दोलनबाट प्रभावित भई कम्युनिष्ट (वाम) आन्दोलनमा लागेका गिरीमा १२ वर्षको उमेर देखिनै राजनीतिक जागरण आएको थियो। माध्यमिकस्तरको शिक्षा आर्जन गर्ने बेलादेखि त्यहाँका प्रधानाध्यापक (स्व.) सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा तत्कालीन पञ्चायतविरुद्धको आन्दोलनमा गिरी बाल्यकालमै सरिक भएका थिए।  तत्कालीन समाजको थिचोमिचो, अन्याय र विभेदको अन्त्य हुनुपर्छ र समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने चेतना र भावना उनमा बाल्यकालदेखि नै जागेको थियो।

औपचारिक राजनीतिक यात्रा

गुल्मीबाट रुपन्देहीमा बसाई सरेपछि वामपन्थी नेताहरुसँग उनको सम्बन्ध जोडियो। ०३६ सालको विद्यार्थी आन्दोलन, ०३७ सालको मजदुर आन्दोलनमा उनी सरिक भए। ०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध हुँदै राजनीतिक कमिटीका औपचारिक नेतृत्वमा सामेल भए। बीएसम्मको अध्ययन गरेका उनले केही समय गुल्मी र रुपन्देहीमा रहेर शिक्षक भएर पनि काम गरे। नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको आन्दोलनमा सहभागी हुँदै ०३८ सालमा अखिल नेपाल किसान संगठनको इलाका अध्यक्ष भएपछि उनले भूमिगत कम्युनिष्ट पार्टी नेकपा मालेमा सक्रिय सदस्य भएर काम गर्न थाले। ०४५/०४६ सालको पञ्चायत विरोधी आन्दोलनताका उनी  नेकपा मालेको जिल्ला कमिटी सदस्यको हैसियतले जिल्ला वाममोर्चाको सदस्य भएर नेतृत्व गरेका थिए। 

विसं. ०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका गिरी जिल्ला पार्टीको उपसचिव, सचिव र अध्यक्ष तथा अञ्चल कमिटी हुँदै नवौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य र रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य बनेका थिए।  चितवनमा सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनबाट नेता गिरी पोलिटब्यूरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज भएर जिम्मेवारी पूरा गर्दै आएका छन्।

राजनीतिक आन्दोलनको नेतृत्व 

२०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त वाममोर्चाको जिल्ला सदस्यको रुपमा र २०६१ सालमा रुपन्देही पार्टी जिल्ला प्रमुखको रुपमा शाही‘कु’को विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहे। शाही ‘कु’ का विरुद्धको आन्दोलनमा लागेको भन्दै उनले तीन महिना जेल सजाय भोगे। ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा उनले रुपन्देहीमा रहेर कमाउण्ड सम्हाले। ०३५/०३६ ताक नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा सक्रिय सहभागी हुँदा उनलाई तत्कालीन प्रशासनले वारेन्टको सूचीमा राखेको थियो।

नयाँ व्यवस्था बहालीका लागि भूमिगत रहेर विभिन्न समयका आन्दोलनमा पनि उनी  सक्रिय रहे। अविच्छिन्न पार्टी राजनीतिमा सक्रिय हुँदै प्रतिकूल अवस्थामा पनि कुशलतापूर्वक कार्यभार सम्हाल्न सक्ने सामथ्र्य र क्षमता उनले पटकपटक प्रदर्शन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell