काठमाडौं : 'स्पट फिक्सिङ' भएको सुचना आएपछि प्रहरीले नेपाल टी २० लिगका खेलहरुको अनुसन्धान गरिरहेको छ। लिगका खेल आज समापन भएको छ। तर, प्रहरीको अनुसन्धान अझै जारी रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खेलमा 'स्पट फिक्सिङ' भएको खुलेको छ। जसमा नेपाली खेलाडी देखि विदेशी खेलाडीको संलग्नता देखिएको छ। यो लिगमा ६ टिममा ९० खेलाडी सहभागी थिए। बेटिङ र फिक्सिङमा संलग्नहरुले एक खेलाडीलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ दिएको खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ६० जना खेलाडी, विभिन्न संघसंस्थाका पदाधिकारीसँग बयान तथा सोधपुछ भइसकेको छ। प्रहरीको अनुसन्धानमा राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु पनि निगरानीमा रहेका छन्। उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।
आज मात्र प्रहरीले लिगका खेलको फुटेज क्यानसँग मागेको थियो। कीर्तिपुरमा फाइनल खेल सम्पन्न हुँदा 'स्पट फिक्सिङ'मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। त्यसै क्रममा आज प्रहरीले नेपाल क्रिकेट संघ क्यानलाई पत्रचार गर्दै फिक्सिङको आशंका गरिएका खेलेको फुजेट र मैदानभित्रका सिसि क्यामराको फुटेजसमेत माग गरेको हो।
क्यानका सचिव प्रशासन्त विक्रम मल्ले आयोजकलाई प्रहरीले खोजेको फुटेज उपलब्ध गराउन निर्देशन दिएका छन्।
अहिले प्रहरीले घटनामा संदिग्ध रहेका व्यक्ति, साक्षी, जान्ने सुन्नेहरुसँग बयान तथा सोधपुछ गरिरहेको छ। जारी लिगमा ६ टिममा करिब ९० जान खेलाडी सहभागी छन्। जसमा ३४ जना विदेशी खेलाडी रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।
त्यस्तै, नेपाली र विदेशी खेलाडीहरुसँग पनि प्रहरीले बयान लिएको छ। प्रहरीले फिक्सिङमा संदिग्ध व्यक्तिहरुको पहिचान समेत गरिरहेको दाबी गरेको छ। प्रहरीले पहिचान भएका व्यक्तिहरुविरुद्ध थप प्रमाण संकलन गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही नेपाली र विदेशी खेलाडीहरु फिक्सिङमा संलग्न भएको खुलेको छ।
'हाम्रो अनुसन्धान पनि अन्तिम चरणमा छ। ३/ ४ दिनमा नै कुनै टुंगोमा पुग्छौं,' सिआइबीका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।
नेपाल टी-२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले उनी सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ। जतिनलाई प्रहरीले खोजी रहेको छ। तर उनी सम्पर्कमा छैनन्।
लिग विवादमा तानिएपछि केही दिनअघि मात्र दुबईमा रहेको आइसीसीको क्षेत्रीय कार्यालयबाट दुई जना पदाधिकारी आएर घटनाको जानकारी लिएर फर्किएका थिए। त्यस्तै आईसीसीको एन्टी करप्सन युनिटका म्यानेजर वीर सिंहले अहिले पनि घटनाको अनुसन्धान गरिरहेका छन्। उनीहरुले प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने वाचा गरेर फर्किएका थिए।
लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानले साझेदारका रुपमा सेभेनथ्री स्पोर्ट्सलाई भित्र्याएको थियो। उसले प्रायोजक ल्याएको थियो, वान एक्स बेट। यो कम्पनी पनि बेटिङ पृष्ठभूमिको हो। फरार जतिन भने क्यानको सम्पर्कमा आएको भने प्रहरीले सूचना हात पारेको छ। फरार भएर भारत पुगेपछि उनले १ करोड रुपैयाँ समेत पठाएको देखिन्छ।
लिगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हेरिरहेको छ। विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषयले झनै चर्चा पाएको थियो। उसो त श्रम स्वीकृतिकै कागजपत्र नमिलेका कारण नियमित समया सुरु हुनुपर्ने लिग एकदिन पछि सरेको थियो। सिआइबीले डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन गरिरहेको छ। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्।