PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

ओली - प्रचण्डको पश्चाताप, देउवाको घुर्की : सदनमा विचित्र भएको दिन



नेत्र तामाङ

ओली - प्रचण्डको पश्चाताप, देउवाको घुर्की : सदनमा विचित्र भएको दिन

काठमाडौं : मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अचम्म माने।

‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा समेल भए। यहाँ भन्दा हाइसञ्चो सत्ता पक्षलाई सजिलो के होला? यो कुन किसिमको समर्थन हो मैले त बुझ्नै सकिनँ,’ प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिनुअघि केसीले यसो भनेका हुन्।

केसीले भनेझैं प्रचण्डले अभूतपूर्व मत पाएर प्रधानमन्त्रीमा आफ्नो यात्रालाई सुरक्षित पारे। २७५ सदस्यीय प्रतिनिधि सभामा जम्म दुईजना सांसदलेमात्र प्रचण्डलाई मत हालेनन्।

अर्को अचम्म के भयो भने प्रधानमन्त्री बनेका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पालैपालो आत्मसमीक्षा गरे। अघिल्लो दिन नयाँ दललाई प्रशंसा गरेर मख्ख पारेका दुई नेता पछिल्लो दिन आफ्नो कर्मको समीक्षा गर्दै पश्चाताप जनाउन उत्रिए।

संसद विघटन गरेकोमा ओलीको पश्चाताप

सुरुमा एमाले अध्यक्ष ओलीले ग्लानिभाव व्यक्त गरे। अघिल्लो संसदमा दुईपटक प्रतिनिधि सभा विघटन गरेका ओलीले यसअघि आफू प्रतिगामी नभएको दाबी पटकपटक गर्दै आएका थिए। मंगलवार भने रोस्टममै उभिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई 'गुरुजी' भन्दै प्रतिगामी भएको स्विकारे उनले। नेकपाको आन्तरिक कलह हुँदा ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ गरि दुईपटक संसद् विघटन गरेका थिए।

यही विषयलाई मुद्दा बनाएर देउवा सर्वोच्चको परमादेशमा प्रधानमन्त्री भएका थिए। यही विषयलाई सम्झाउँदा देउवा प्रतिपक्षी बेन्चमा बसेर मुसुमुसु हाँसिरहेका थिए।

ओली भन्दै थिए, ‘अहिले त खण्डन गर्नै भएन। सरकारलाई समर्थन गरेको छ। १५ सालमा संसद बन्यो। १७ सालमा संसद विघटन गर्ने महेन्द्र हो।  म हैन। ४८ सालमा निर्वाचन भो। ५१ सालमा संसद विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो, म हैन।‘

देउवासँगै कांग्रेसका अरु नेता पनि मुस्काएको देखेर होला ओली झनै हौसिए। र, आफू पनि हाँस्दै ओलीले थपे, ‘गुरुजी, आफूले गरेको कुरा कतिपटक संसद विघटन भो? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर मध्यवधिमा गएर असोज १८ र माघ १९ मा पुगेको होइन? मेरो मित्रलाई म सोध्न चाहन्छु। यहाँले होइन पटकपटक संसद् विघटन गरेको?’

त्यतिबेला आफ्नो समर्थनमै देउवा सुरिएको ओलीको दाबी थियो। ‘मैले त्यतिबेला समर्थन गरेको थिएँ। अरु सबैले विरोध गर्दा पनि। यदि चुनाव गराउनुभएन भने गलत हो। चुनाव गराउनुभयो भने जनताको बिचमा जाने कुरा ठीक हो भनेर,’ ओलीले भने,‘हामीले मौका अनुसारको व्याख्या राजनीतिमा कहिले पनि गर्नुहुँदैन।‘

संसद विघटनलाई कांग्रेसले जहिल्यै प्रतिगमन ठान्ने र झसंग हुने कांग्रेसको बानी रहेको ओलीको तर्क थियो। राजा ज्ञानेन्द्रले माघ १९ को कदम गर्दा कांग्रेसकै हात रहेको ओलीले आरोप लगाए।

‘तर नेपाली कांग्रेसले पनि त आफै अन्तिमपटक संसद विघटन गरेर माघ १९ पुर्‍याएको सम्झिएर

संसद विघटन भएपछि प्रतिगमन ठान्नुहुन्छ उहाँ,’ ओलीले भने,‘झस्याङ्ग हुन्छ नि। सधैं त्यस्तो हुँदैन। सधैं त्यस्तो हँदैन।‘

संसदीय प्रणालीमा संसद विघटन सामान्य भएको उल्लेख गर्दै देउवाकै सिको गर्दा आफूमाथि उल्टै हमला भएको तर्क गरे ओलीले।

‘संसदीय प्रणालीमा संसद बेलायतमा पनि भंग हुन्छ। इन्डियामा पनि हुन्छ। जापानमा पनि हुन्छ। इजरालयमा पनि हुन्छ। अन्यत्र पनि हुन्छ। जस्तो अमेरिकामा यति सालमा यो महिनामा ४ ले भाग गर्दा हुने महिनामा निर्धारण हुन्छ। त्यो संविधानमै हुन्छ। संविधानमा कहाँनेर हुन्छ भनेर हेर्दा बेलायतमा संविधाननै हुँदैन,’ ओलीले भने,‘लेखेको छैन भने अगाडि हेरेर हुन्छ। मैले त शेरबहादुरजीले के गरेको थियो भनेर पो हेरेको त। झन् गुरु मान्दाखेरि हमला?’

ओलीको बोलीपछि प्रतिनिधि सभामा लामो हाँसो फैलियो। उनले आफूले देउवालाई सम्झाएकोमात्रै भनेर 'फेस सेभिङ' गरे।

यसो त देउवालाई रोस्टमबाटै चेतावनी दिन भ्याए ओलीले। प्रचण्ड सरकारलाई समर्थन गर्नुको कुनै भित्री चालबाजी भए त्यो माछा नभएको खोलामा फालेको जालजस्तै हुने चेतावनी उनको थियो।

‘यदि यो समर्थन कुनै जाल हैन भने कुनै ढोक्सा हैन भने स्वागतयोग्छ छ। जाल हो भने ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुनेछ,’ ओलीले भने,‘त्यसभित्र भोलिका निम्ति केही सोचिएको हो भने ढोक्सा रित्तै हुनेछ। त्यस खोलामा ढोक्सा थापेतिर कुनै माछा पर्ने छैन।‘

दौरासुरुवाल नलगाएकोमा प्रचण्डको पश्चाताप

यसपटक अर्को विचित्र संयोग हो ओली र प्रचण्डको मिलन। कुनै बेला पार्टी एक बनाएर नेकपाका दुई पाइलट बनेका थिए यी दुई सारथि। भागबण्डा नमिलेपछि बबन्डर मच्चाएर प्रचण्ड देउवालाई प्रधानमन्त्री बनाउन आइपुगे। ओली प्रतिगामी 'ब्याच' पाएर सत्ताच्युत बने। दुई नेताको फरक चिनारी छँदै थियो - ओली देशभक्तिको नारा उछालेर चर्चित बनेका थिए, प्रचण्ड क्रान्तिकारी छबिले।

उनै प्रचण्ड दौरासुरुवालमा कहिल्यै देखिएनन्। माओवादीले यसलाई ‘सामन्ती पोशाक’को संज्ञा दिएको थियो। जसका कारण डा बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा २०६८ सालमा दौरासुरुवाललाई राष्ट्रिय पोशाकबाटै हटाइदिए। उनै बाबुरामले ५ वर्षअघि नै त्यही राष्ट्रिय पोशाक लगाए। तर प्रचण्डले भने पटकपटक प्रधानमन्त्री बन्दा पनि दौरासुरुवाल रोजेका थिएनन्।

यसपटक प्रधानमन्त्रीमा शपथ लिँदा पुस ११ गते प्रचण्ड दौरासुरुवालमा चिटिक्क परेर पुगे शीतल निवास।

दौरासुरुवाल लगाएपछि चर्चामा आएर मख्ख देखिन्छन् प्रचण्ड। यो कुरा उनले मंगलवार विश्वासको मत मागेपछि जवाफ दिने क्रममा खुलाए। यसअघि आफूले दौरासुरुवाल नलगाएकोमा पछुतोसमेत माने उनले।

‘यसपटक प्रधानमन्त्री हुँदा दौरासुरुवाल लगाएपछि धेरै चर्चा भयो। मलाई कयौं विदेशीले पनि किन नलागएको भनेर सोध्ने गर्थे,’ प्रचण्डले भने, ‘देशभित्र पनि सोधेका थिए। तर म दौरासुरुवाल कोट विरोधी थिइनँ। लगाउने अवसर नै पाइएन।‘

यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले आफूलाई दौरासुरुवालमा देख्न चाहेकोले जनभावनाअनुरुप यो पोशाक लगाएको दाबी पेश गरे प्रचण्डले।

‘राष्ट्रपतिले पनि दौरासुरुवालमा हेर्न मन छ भन्नुभयो। केपी ओलीजी, रवि लामिछाने सबैले लगाउने कुरा गर्नुभयो,’ उनले भने, ‘मैले उपयुक्त समयमा लगाउँछु भनेर भने। समाचार बन्यो। कमेन्ट हेरें। कति नेगेटिभ आउँछ, कति पोजेटिभ आउँछ। नेगेटिभ एउटै आएन। जनभावनाअनुरुप नै मैले लगाएको हुँ।‘

यतिमात्रै हैन, प्रचण्डले आफूले प्रदर्शन गरेको क्रान्तिकारिताले पार्टीमै क्षति पुगेको तर्कसमेत पेश गरे।

‘क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो पनि देखिनँ मैले। लगाउने जति जिते। नलगाउने जति हारेको,’ हाँस्दै प्रचण्डले भने।

उनले अब दौरासुरुवाल सबै नेपालीको साझा पोशाक बनेकोसमेत बताए। ‘यो के आदिवासी, सबैको साझा पोशाकको रुपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

देउवाको मात्रै घुर्की

गठबन्धन जोगाउन नसक्दा मुखमा आइसकेको सत्ताको बागडोर गुमाएका कांग्रेस सभापति देउवा यसपटक प्रतिनिधि सभामा घुर्कीमा सीमित बने। विश्वासको मत प्रस्तावमा सुरुमा देउवाले गठबन्धनको संस्कारमा अभ्यस्त हुनुको विकल्प नभएको बताए। त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने घुर्की लगाए।

‘​हामीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गरि मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। मिश्रित निर्वाचन प्रणालीले देशको सबै भूगोलको बसोवासका साथै सबै लिंग, वर्ग, जाति, समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ,’ मंगलवार देउवाले भने, ‘यी सबै विषयलाई गम्भीरतापूर्वक दृष्टिगत गरि हाम्रो पार्टी नेपाली काँग्रेसले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।‘

​केन्द्रीय कार्यसम्पान समितिबाट विश्वासको मत दिने निर्णय गरेर संसद पसेका कांग्रेस सभापति देउवाले उत्तरदायी प्रतिपक्षी संसदमा आवश्यक भएको पाठ झिके। ‘हामीले आत्मसात गरेको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हो। यो शासन प्रणालीको एक प्रमुख विशेषता सरकारलाई संसदका प्रति उत्तरदायी बनाउने र संसद स्वयं जनताको प्रति उत्तरदायी हुने हो। सरकारलाई सदनका प्रति र सदनलाई जनताका प्रति पूर्णरुपले जवाफदेहि बनाउनका लागि संसदमा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ,’ देउवाले भने, ‘प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुन जाने, स्वच्छाचारी नीति कानून बन्न सक्ने सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ। संसद आफै पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ। त्यस कारण हामीले बहुलवाद र बहुदलियता सहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेका हौं।‘

सरकारलाई गुण र दोषको आधारमा निगरानी राख्ने उल्लेख गर्दै देउवाले सरकारमा भने सहभागी नहुने बताए।  देउवाले भने, ‘सरकारका काम कारबाहीहरुको सुक्ष्म रुपले मूल्याकंन गरि गुण र दोषका आधारमा विश्लेषण गरि आफ्नो धारणा बनाउने छौं। सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्नेछौं।‘

अन्त्यमा कांग्रेसले प्रचण्डको सरकारलाई विश्वासको मत दियो र झन्डै विपक्षीरहित संसद बनाउन सफल भयो। मत दिने तर गुण र सरकारलाई उत्तरदायी बनाउने घुर्कीसहित।

यो घुर्कीभित्र कांग्रेसका अनेकन चालबाजी होला तर जनमोर्चाका वयोवृद्ध नेता केसीले भने झैं संसदमा नेपालमा मंगलवारविचित्रै भयो। उनले नबुझे झैं धेरै नेपालीले यो प्रकरण बुझेका छैनन्। राजनीतिभित्रको यो खेलको रहस्यीमय पर्दा राजनीतिक हानथापले त विस्तारै खुल्दै जाला, तर यसले देशको विकासलाई भने कति पर धकेल्ने हो, नागरिक भने चिन्तित हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell