PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजावादीको स्वागत थाप्न गणतन्त्रवादीको भीड, कमल थापाले लिङ्देनलाई अंगालो हाल्नुको सन्देश के?



प्रकाश भण्डारी

राजावादीको स्वागत थाप्न गणतन्त्रवादीको भीड, कमल थापाले लिङ्देनलाई अंगालो हाल्नुको सन्देश के?

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा सरकारले दिएको बिदालाई ठूलै उपलब्धि मान्यो। सरकारबाट आफ्ना शर्त अनुमोदनमात्रै गराएन, ४ मन्त्रालयको भाग पनि पाउँदैछ, राप्रपाले।

‘१४ सिट जितेको पार्टीले ४ मन्त्रालय पाउनु र प्रदेशमा पनि भाग पाउनु सानो उपलब्धि होइन,’ प्रवक्ता ज्ञानेन्द्र शाहीले मंगलबार भनेका थिए। सरकारले पृथ्वी जयन्तीमा दिएको बिदालाई राप्रपाले भने राष्ट्रिय एकता दिवसका रुपमै मनायो। 

राप्रपा त्यागेर राप्रपा नेपालको नेतृत्व गरिरहेका कमल थापा सरकारले पृथ्वी जयन्तीमात्रै भनेकोमा सन्तुष्ट छैनन्। ‘बिदा दिएकोमा सरकारलाई धन्यवाद। राज्यबाटै एकता दिवस मनाउनुपर्छ,’ थापाको तर्क छ।

राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको जलपानमा कमल थापा त पुग्ने नै भए, गणतन्त्रवादी नेताहरुको समेत भीड लाग्यो। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसम्मले राप्रपाको जलपान ग्रहण गरे। पृथ्वीनारायण शाहको गुनगान गाए, संघीयता र गणतन्त्रविरोधी राप्रपाका नेतासँग कुममा कुम मिलाएर गफिए। 

को-को पुगे जलपानमा?

राप्रपाका अध्यक्ष लिङ्देनले मंगलबारको संसद बैठकबाटै नेताहरुलाई जलपानमा निम्ता दिएका थिए। लिङ्देनको निम्तो मान्न एमालेबाट अध्यक्ष ओली, उपमाहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यहरु राजन भट्टराई र रघुजी पन्त  पुगे।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, सांसद रामहरि खतिवडा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतका नेताको सहभागिता रह्यो। नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भए। नेकपा (एकीकृत समाजवादी) बाट जलपानमा अध्यक्ष माधव नेपाल र उपमहासचिव प्रकाश ज्वाल पुगे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्यक्रममा सहभागी भए। राजनीतिक दलका नेताबाहेक प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल पनि देखिए राप्रपाको जलपानमा। ओलीदेखि थापासम्मले राप्रपाको जलपान ग्रहण गरेका दृश्य रोचक छन्।

‘केपी बा आइ लभ यु’

सबैभन्दा रोचक त के रह्यो भने कार्यक्रम राप्रपाको भए पनि ओलीको ‘हाइ हाइ’ भयो।

‘केपी बा आइ लभ यु’ नै भनेका थिए चियापनमा सहभागीले। वर्ष दिनअघि नेपाली कांग्रेसको कार्यक्रममा पनि ओलीको पक्षमा नारा लागेपछि एमालेका नेता कार्यकर्ताले ओलीको राजनीतिक हाइट सबैभन्दा उचो भएको टिप्पणी गरेका थिए।

अन्तिमतिर आएर केही समयमात्रै बसेका ओलीलाई राप्रपाका सबै नेताहरुले सुरुदेखि नै पर्खिरहेका थिए।

किनभने ओली आएपछि सबै नेता जलपानमा सहभागी भए ओलीसँगै। त्यसो त रवि लामिछानेको पक्षमा पनि नारा लगाए सहभागीले ‘रवि दाइ हाइ हाइ’ भन्दै। रविको समर्थन नारा लाग्दा ओली पृथ्वीनारायण शाहको प्रशंसा गर्दै थिए। नारा लागेपछि हाँस्दै एकैछिन रोकिए ओली।

अनि उनले नेपाल सरकारले पृथ्वी जयन्तीमा बिदा दिनुको कारणको सार सुनाए  : पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो, जुन नेतृत्व गर्नुभयो। देश एकीकरण भयो। एउटा देश भयो, हामी नेपाली भयौं। त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो।    

ओली-नेपालको लुकामारी

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध सुधार भएर ओलीले प्रचण्डलाई प्रधानमन्त्री नै बनाइसके। तर आफ्ना पूर्व सहयात्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र ओलीको तिक्तता कायमै छ।

प्रतिनिधि सभाको २५ गतेको बैठकमा पनि ओलीले नेपालको सम्बोधन नसुनेरै बाहिरिएकोले पनि दुई नेताको तिक्ततापूर्ण सम्बन्धको पुष्टि गर्छ।

उनीहरुको सम्बन्ध सुधार नभएको छर्लङ्ग पार्ने अर्को घटना हो- मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपालले ओलीलाई ‘गफाडी’ भन्दै गरेको व्यंङ्ग्य।

सायद त्यसैले पनि होला बुधबार पनि ओली र नेपालको लुकामारी भयो राप्रपाको चियापानमा। नेपाल सहभागी भएर बाहिरिएपछि मात्रै ओली कार्यक्रममा आए। ओली नआउँदै नेपालले ओलीप्रति कटाक्ष गर्न भने भ्याए।

‘एमालेको प्रश्न मलाई नगर्नुस्। खाली पानीमा बल्छी हानेको भन्ने छ,’ कांग्रेसले प्रचण्डलाई समर्थन गरेकोमा एमालेले आशंका जनाएको छ नि? भन्दै प्रश्न गरेपछि नेपालको भनाइ थियो। 

सबैभन्दा पहिला पुग्ने रामचन्द्र

चियापानमा सबैभन्दा पहिला पुग्ने शीर्ष नेता हुन् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। उनी अरु नेताहरुभन्दा पहिले नै आए र सबैभन्दा पहिला नै निस्किए। पौडेलले पृथ्वी जयन्तीको औपचारिकता पूरा गरेरमात्रै नहुने बताए।

उनले सबै एक भएर काम गर्नुपर्ने भएकाले कांग्रेसले सरकारलाई समर्थन गरेको प्रष्टीकरण दिए। उनी बाहिरिँदा पत्रकारहरुले उनलाई प्रश्न गरे-किन विश्वासको मत दिएको?

'सरकारसँग मिलेर काम गर्नुपर्छ। अहिले सरकारमा जाने कुरो छैन। हामीले मिलिजुली जानुपर्छ भनेका हौं। देशको लागि एकता आवश्यकता छ,’ पौडेलको जवाफ थियो। उसो त उनले कांग्रेस प्रतिपक्षकै भूमिकामा हुने बताए।

लाइन लागेरै शुभकामना दिए रामहरिले

अरु नेताहरु सिधै अध्यक्ष दिङ्देन बसेको ठाउँमा पुगेर बधाई दिइरहेका देखिन्थे। तर कांग्रेस नेता रामहरि खतिवडा भने यसमा अलि फरक देखिए। उनी मञ्चमा लिङ्देनलाई बधाई दिन जाने सहभागीहरुको लाइनमै उभिए।

पालो पर्खिएरै उनले राप्रपाका नेताहरुलाई बधाई दिएका थिए। सांसद प्रतिपक्षीविहीन भएको भन्दै प्रश्न उठिरहेका बेला खतिवडाको बुझाइ भने अलि अनौठो छ।

‘हामी प्रतिपक्ष नै हौं। राष्ट्रपति कार्यालय गएर हस्ताक्षर गर्ने सत्तापक्ष र हामी समर्थन गरे पनि राष्ट्रपति कार्यालय नगएकाले प्रतिपक्षी हौं,’ खतिवडाको तर्क छ।

कमल थापा आउँदा राप्रपाको उत्साह

एक वर्षअघि भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए कमल थापा। हारको पीडा असह्यमात्रै भएन थापाका लागि पार्टी विभाजनको मुख्य कारण पनि। उनले राप्रपा छोडेर राप्रपा नेपाल गठन गरे।

पूर्व राजा ज्ञानेन्द्र शाहमाथि दोष थुपारेर उनी आफ्नो पुरानो पार्टी छाडेर निस्किएका थिए। यसो त राप्रपा नेपालबाटै राप्रपा छिरेर एकता गरी अध्यक्ष बनेका थिए थापा। 

बुधबारको चियापानमा थापा छुटेनन्। उनी आउँदा राप्रपाका नेता कार्यकर्तामा उत्साहित देखिए। बसिरहेका लिङ्देन उठे र गमलङ्ग अँगालो हाले।

लिङ्देनकै छेउमा बसेका थापाले केहीबेर कानेखुसी गरे। निस्कने बेला अरु नेताको जस्तै उनले पनि प्रतिक्रिया दिए -राप्रपा मेरो पनि पार्टी हो। यसका लागि मैले पनि पसिना बगाएको छु। उहाँले जे सफलता हासिल गर्नुभएको छ शुभकामना। पार्टी विभाजन किन? जवाफ दिन चाहेनन् थापाले। ‘अहिले यो कुरा नगरौं,’ बाहिरिने बेला थापाको भनाइ थियो। 

राप्रपाका अध्यक्ष लिङ्देनसँग तिक्ततापूर्ण सम्बन्ध रहेका थापाको बुधबार राप्रपाकै कार्यक्रममा इन्ट्री गरेर सम्बन्धमा सुधार गर्न चाहेका रुपमा राप्रपाका नेताहरुले बुझेका छन्। हुन त यसअघि गीता छोएर पार्टी विभाजन नगर्ने वाचा गरेका थापाले महाधिवेशनमा हारेपछि पार्टी नै फुटाए। आफ्ना पक्षमा रहेका राप्रपाका नेता/कार्यकर्ताको आफूप्रति सहानुभूति बटुल्नका लागि पनि उनी चियापानमा पुगेको टिप्पणी राप्रपाकै नेताहरुले गरेका छन्। किनकि एमालेको सूर्य चिह्न लिएर पनि थापाले एक सिट पनि जित्न सकेनन् चुनावमा। जबकि थापाले छाडेको राप्रपाले भने १४ सिट जितेर उत्साहको सञ्चार गराएको छ पार्टीमा।

नारायणकाजीको तर्क-पृथ्वीनारायणबारे विवाद गर्नु पर्दैन 

माओवादी केन्द्रले राजाहरुका शालिक मात्रै जनयुद्धका बेलामा ढालेको थिएन त्यसपछि सत्तामा पुगेपछि पनि उक्त धारणामा फेरबदल ल्याएको थिएन। तर यसपटक भने माओवादी केन्द्रको नेतृत्वकै सरकारले पृथ्वीनाराण शाहको जन्म जयन्तीमा बिदा दिएको छ भने नेताहरुले पृथ्वी जयन्ती नै मनाएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगे भने गोरखा गएर फर्किएका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ भृकुटीमण्डमा पनि सहभागी भए। 

उनले पृथ्वीनारायण शाहले गरेको एकीकरणको प्रशंसा गर्दै विवाद गर्न नहुने तर्क  गरेका छन्। ‘पृथ्वीनारायण शाहको भूमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यकता छैन। राज्य विस्तारको तरिकाद्वारा बस्तुगत रुपमा नेपाल एकीकरण गर्ने काम गरेको स्मरण गर्दै सरकारले बिदा दिएको छ,’ श्रेष्ठले भने।

राप्रपालाई खेदिरहने प्रश्न

राप्रपाका नेताहरुले पछिल्लो दिन सामना गर्नुपरिरहेको प्रश्न हो -संघीयता र गणतन्त्र विरोधी हुँ भन्ने अनि प्रदेशमा मन्त्री र मुख्यमन्त्रीका लागि दाबी गर्ने? यो प्रश्न बुधबार महामन्त्री धवलशम्शेर राणालाई पनि पत्रकारले सोधे। उनले मुख्यमन्त्रीमा राप्रपाले दावी नगरेको जवाफ दिएका छन् भने संंघीयता नमाने पनि संघीय संरचनामा सहभागी भएरै सुधार्ने तर्क गरे।

‘हामी राजवादी नै हौं। संघीयताको विरोध गर्छौं। तर अहिले नै हामीले राजतन्त्र त ल्याउन सक्दैनौं नि। त्यसैले संघीय संरचनालाई मानेरै सुधार गर्नेमा हाम्रो ध्यान छ,’ राणाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell