PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दुई बहुप्रतिक्षित फिल्म एकैदिन नजुधाउने भन्दै के अनमोल केसीसँग लिइँदैछ प्रतिशोध?



लक्ष्मी बलायर

दुई बहुप्रतिक्षित फिल्म एकैदिन नजुधाउने भन्दै के अनमोल केसीसँग लिइँदैछ प्रतिशोध?

काठमाडौं : अहिले नेपाली सिनेमा क्षेत्रमा दुई फिल्मको चर्चा व्यापक छ। दीपक राज गिरीको ‘छक्कापञ्चा ४’ र अनमोल केसीको ‘छड्के २’ लाई लिएर बहस भइरहेको हो, कारण : बहुप्रतिक्षित भनिएको यी दुवै फिल्मको प्रदर्शन मिति एकै दिन हुनु। यी दुवै फिल्म फागुन १९ गते रिलिज हुने तरखरमा छन्।

कोरोना महामारीपछि नेपाली फिल्म क्षेत्रले लय समात्न सकिरहेको छैन। त्यसमाथि दुई ठूला फिल्महरु एकै मितिमा जुध्ने भएपछि हल सञ्चालक असन्तुष्ट देखिएका छन्। मल्टिप्लेक्स चेन क्युएफएक्सले त एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने निर्णय नै गर्‍यो। सो निर्णय अनुसार क्युएफएक्समा फागुन १९ गते ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन हुने भएको छ।

क्युएफएक्सको निर्णयपछि ‘छड्के २’ आक्रमक देखियो। नयाँ पोस्टर सार्वजनिक गर्दे छड्के २ को प्रदर्शन मिति फागुन १९ गते नै करार गर्‍यो फिल्म युनिटले। यो निर्णयबाट ‘छड्के २’ ले क्युएफएक्सले गरेको निर्णयमा असहमति जनाएको प्रष्टै देखियो। क्युएफएक्समा रिलिज नभए पनि अन्य हलहरुमा सोही नै फिल्म प्रदर्शन गर्ने दाउमा छ निर्माण टिम।

दुई ठूला फिल्महरु एकआपसमा भिड्न खोज्नु पक्कै पनि फिल्म उद्योगका लागि चुनौती हो। किनकी बलिउडका ठूला फिल्महरु आउँदा मिति सार्नेदेखि एकहप्तापछि रिलिज गर्ने नियम बनाउन चलचित्र बोर्डसँग आग्रह गरेका थुप्रै उदाहरणहरु छन् वितरक र निर्माताहरुले। 

अहिले एउटा फिल्मलाई शो दिने तर अर्को फिल्मलाई शो नदिने क्युएफएक्सको नियममाथि नै प्रश्न उठ्न थालेको छ। हालसम्म नेपाली फिल्म इतिहासमा यस्तो नियम कहिल्यै लागू भएको थिएन।

अभिनेता भूवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि क्यूएफएक्सको टिम उनका शोको समय, सेन्सर लगायतका विषयमा नयाँ नियमबाट असन्तुष्ट भएका थिए। जसकारण क्युएफएक्सले भुवनमाथिको रिस अनमोलमाथि पोख्न खोजिरहेको 'गसिप'समेत चल्न थालेका छन् फिल्म बजारमा अहिले।

हुनत फागुन १९ गते मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ पनि प्रदर्शन हुने घोषणा भएको थियो। तर, हालसम्म यी फिल्मले सोही मितिमा फिल्म रिलिज गर्ने कुनै छाँटकाट भने देखाएका छैनन्।

दुबैले रिलिज डेट नछोड्ने

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘छड्के २’ को छायाङ्कन सकिसकेको छ। त्यसैगरि, हेमराज बिसीको निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा ४’ को सुटिङ भने जारी छ।

‘छक्का पञ्जा ४’ का अभिनेता तथा निर्माता दीपकले आफूहरु तोकिएको मितिमा फिल्म प्रदर्शन सुनाए। उनले भने, ‘तोकेकै मितिमा फिल्म रिलिज गर्ने भनेर हामी काम गरिरहेका छौं। कुनै प्राविधिक समस्या आउँदा ढिलो होला त्यो फरक कुरा हो। तर, फिल्म अर्को मितिमा सर्ने सम्भावना निकै कम छ।’

‘छड्के २’ ले मिति तोक्नु भन्दा प्रदर्शनका बारेमा क्युएफएक्सलाई समेत पहिले नै जानकारी गराइसकेको दाबी गरे उनले। फिल्म जुधे पनि चल्ने उनको भनाइ छ।

‘मैले उहाँहरु भन्दा पहिले नै रिलिज डेट घोषणा गरेको हुँ। फागुन १९ गतेको लागि क्युएफएक्ससँग शो समेत लिइसकेको छु। तर, उहाँहरु जुध्न आउनु हुन्छ भने नि त्यसमा मेरो केही आपत्ति छैन। राम्रो फिल्म बनेको छ भने जसरी नि चल्छ।’

क्युएफएक्स चेनले ‘छक्का पञ्जा ४’ लाई मात्रै शो दिएपछि दीपकले 'कमिसन' दिएको हल्ला समेत फैलिएको थियो। तर, दीपक भने यस कुरामा सत्यता नरहेको दाबी गर्छन्।

‘मैले हललाई कमिसन दिएको कुरा प्रोपोगाण्डा हो। मैले कमिसन दिएको हो भने उहाँले पनि त दिन सक्नुहुन्छ नि। किनकी छड्के २ को निर्माता हामीभन्दा बलियो हुनुहुन्छ। यदि मैले कमिसन दिएको केही प्रमाण दिएमा म यो डेट छोड्न तयार छु,’गिरीले भने।

यता, ‘छड्के २’ टिम पनि रिलिज डेट नछोड्ने पक्षमा छ। निर्मातासँगको धेरै पटकको छलफलपछि ‘छड्के २’ फागुन १९ को लागि 'लक' गरिएको यस फिल्मका वितरक सुनिल मानन्धर बताउँछन्। 

‘रिलिज डेट निर्माताले नै पक्का गर्ने कुरा हो। त्यहीअनुसार हामी अगाडि बढ्छौँ। फेरि एकै दिन दुई/तीन फिल्म रिलिज हुनु नौलो कुरा होइन। एउटा रिलिज गर्दा चल्ने र दुई फिल्म रिलिज गर्दा नचल्ने भन्ने हुँदैन। हालै ‘डिसेम्बर फल्स’ ले सोलो मौका पाउँदा किन चलेन त? राम्रो फिल्म हुँदा यता नि हेर्छन् उता नि हेर्छन्,’ उनले भने।

उनले एकै दिन दुई ठूला फिल्म रिलिज गर्न नदिने क्युएफएक्सको निर्णय मान्न तयार नरहेको बताए।

‘क्युएफएक्सको यो नियम हामी मान्दैनौँ। आउँदो शुक्रवार पनि त दुई नेपाली फिल्म जुध्दैछन। कि त यो नियम सबैमा लागु हुनुपर्‍यो अर्थात क्यु सिस्टम हुनुपर्‍यो। हैन भने अचानक लगाएको नियम मान्न हामी तयार छैनौं। वर्षमा जम्मा ५२ हप्ता हुन्छन् तर, वर्षभरि सयौं बढी बन्छन्। अनि एउटा मात्रै फिल्म रिलिज गर्न मिल्छ?’ उनले प्रश्न समेत तेर्साए।

तर, भुवनका कारण अनमोलको फिल्मलाई 'टार्गेट' गरेको कुरा भने उनी मान्दैनन्। छड्के २ को निर्माता फरक भएकाले यसमा भुवनको कारण अनमोललाई दु:ख दिएको सोच्नु गलत भएको बताउँछन् उनी।

यो नियम सबै ठूला फिल्ममा लागु हुन्छ

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको देशैभरि एक दर्जनबढी हलहरु छन्। जसकारण ‘छड्के २’ लाई शो नदिएको खण्डमा क्युएफएक्स विवादमा मुछिने निश्चित छ। तर, क्युएफएक्सका निर्देशक भाष्कर ढुंगाना भने ठूला फिल्म जुधाउने प्रथाको अन्त्य गर्न यो नियम लागु गरेको बताउँछन्।

भन्छन्, ‘हामीले पहिला धेरै दुःख पाइसक्यौँ। निर्माता र वितरकहरु ठूला-ठूला फिल्म जुधाउने तर दोष चाहि हललाई दिने? हामी सधैँ जुँगाको लडाईमा पर्‍यौँ। तर, अब हामी उनीहरुको जुँगाको लडाइँमा पर्दैनौँ। हामीले नीतिगत रुपमा यो निर्णय गरेका हौं। यो निर्णय सबै ठूला फिल्ममा लागू हुन्छ।’

यस नियमबारे क्यूएफएक्सले सबै वितरकलाई पत्र लेखेर जानकारी गराइसकेको समेत उनले दाबी गरे। यो नियमअनुसार फागुन १९ को मिति ‘छक्का पञ्जा ४’ लाई दिइसकेको उनी बताउँछन्।

‘यो नियम ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ दुवैसँग सम्बन्धित छैन। यो दशैँदेखि नै सल्लाह गरेको नियम हो। हामीले संघमा पनि कुरा गरिसकेका छौं। एक महिना अघि यस नियमबारे हामीले सबै वितरकलाई पत्र पठाइसकेका थियौं। हामीसँग समन्वय गरेर मात्र रिलिजको मिति तय गर्नुहोला अन्यथा हामीले उहाँहरुलाई सघाउन सक्दैनौं भनेर भनेका थियौं’, ढुंगानाले थप भने,‘त्यहीअनुसार छक्कापञ्जा ४ का वितरक आएर हामीसँग डेट लिनुभएको हो। तर, अहिले आएर छड्के २ ले सोही डेट खोज्नु निहुँ खोज्नु सरह हो। त्यो डेटमा हामीले अर्को फिल्म रिलिज गर्न मिल्दैन।’

उनका अनुसार ठूलो बजेटका फिल्महरु एकै दिन रिलिज हुँदा निर्माताका साथै हललाई पनि घाटा हुन्छ। जसकारण आफूहरुसँग समन्वय गरेर मात्र फिल्म प्रदर्शनको मिति तय गर्न वितरक तथा निर्मातालाई आग्रह गरे उनले।

भने,‘रिलिज डेट मिलाएर अगाडि बढाउँदा निर्माता लगायत हलसञ्चालकलाई पनि फाइदा हुन्छ। विदेशमा पनि ठूला फिल्महरु खासै जुध्दैनन्। छड्के २ लाई हामी अर्को डेट दिन तयार छौं। उहाँहरु त्यही मिति खोजेर मनखुसी गर्नुहुन्छ भने त्यसमा भन्नु केही छैन।’

भुवन केसीका कारण अनमोलको फिल्मलाई शो नदिएको कुराको खण्डन गरे ढुंगानाले।

भन्छन्, ‘भुवन केसी वा अनमोल केसीको फिल्मलाई शो नदिने कुरा हामीले गरेका छैनौं। उहाँहरुसँग हाम्रो केही दुश्मनी पनि छैन। उस्तै त कोरोनाले फिल्म उद्योगको अवस्था नाजुक छ, त्यसमाथि ठूला फिल्म एकै दिन जुध्नु हुँदैन भन्ने हाम्रो चाहना हो। यो नियम सबै ठूला फिल्ममा लागु हुन्छ।’

बोर्ड भन्छ : हलबाट औपचारिक जानकारी आएको छैन

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कुनै हलले यसरी निणर्य गर्न नमिल्ने बताए। संघमा यसबारे कुनै औपचारिक जानकारी समेत नआएको समेत उनी सुनाउँछन्।

‘उहाँहरुले यस विषयमा कुनै औपचारिक जानकारी दिनु भएको छैन। यसबारे हामीहरु सल्लाह गरेर अगाडि बढ्छौँ। खासगरि चाडपर्वमा बेला दुई/तीन फिल्म नै रिलिज गर्न पाइन्छ। फेरि साना र ठूला फिल्म भनेर कसरी छुट्याउने? किनकी साना भनिएका फिल्महरु चलेका र ठूला डुबेका थुप्रै उदाहरण छन्। उहाँहरुले हल दिदैनौं भन्दा निर्माताले पनि त फिल्म दिदैनौं भन्न पाइन्छ नि! के यसरी फिल्म क्षेत्र उभो लाग्छ र?’ उनले पनि प्रश्न तेर्साए।

आफूहरु यस विषयमा वार्ता र सल्लाह गरेर अगाडि बढ्ने समेत उनले बताए। संघले पुस २९ गते भेला गरेर चलचित्र क्षेत्रका विषयमा केही निर्णय गर्नेछ।

त्यसैगरि, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यो कुरा आधिकारिक रुपमा बोर्डसम्म नआएको बताए।

केसीले भने, ‘यो कुरामा सत्यता छैन किनकी उहाँहरुले औपचारिक धारणा निकाल्नुभएको छैन। नियमले पनि यस्तो गर्न मिल्दैन। हामी यस विषयमा छलफल गरेर जानकारी गराउँनेछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell