PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

७४ वर्षीय मोतिलालको जोस : तरकारी खेतीबाट मनग्य आम्दानी



रासस

७४ वर्षीय मोतिलालको जोस : तरकारी खेतीबाट मनग्य आम्दानी
फाइल फोटो : राकेशकुमार मिश्र/रासस

ढोरपाटन : बागलुङ नगरपालिका-३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनीमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन्। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे। बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन्।

‘मसित पुर्ख्यौली सम्पत्ति थिएन, वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ,’ सापकोटाले भने।

पहिला तरकारी खेती गर्ने चलन थिएन। उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो।

‘अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ,’ उनले भने, ‘हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु।’

तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ। तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ। बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय-समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए। उनलाई नयाँ प्रविधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ। कृषि ज्ञान केन्द्रले गत वर्ष उनलाई दुई लाख रुपैयाँ अनुदानसमेत दिएको पुनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell