PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सातै प्रदेशले पाए मुख्यमन्त्री : चार प्रदेशमा एमालेको नेतृत्व, अन्यमा कसको?



पहिलोपोस्ट

सातै प्रदेशले पाए मुख्यमन्त्री : चार प्रदेशमा एमालेको नेतृत्व, अन्यमा कसको?

काठमाडौं : देशका सातै प्रदेशले हाल मुख्यमन्त्री पाइसकेका छन्। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि केन्द्रसँगै प्रदेशमा नयाँ सरकारको गठनको प्रक्रियाले अघि बढेको हो।

सबै प्रदेशमा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन्। त्यसकारण पनि केन्द्र सरकारकै सत्ता गठबन्धन नै प्रदेशमा पनि कायम भएको छ।

प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशमा सोमवार नै मुख्य मन्त्री चयन भएका थिए भने अन्य प्रदेशमा बुधवार मुख्यमन्त्री चुनिए। मुख्यमन्त्री चुनिएसँगै सबै प्रदेशमा अब सरकार विस्तारको प्रक्रिया अघि बढ्नेछ।

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा गत सोमवार नेकपा (एमाले) हिक्मत कुमार कार्की नियुक्त भएका हुन्। कार्कीसँगै एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बू बिना विभागीय मन्त्री नियुक्त भएका छन्। प्रदेशको मुख्यमन्त्री पदमा आलोपालोको लिखित सहमति नभएसम्म सरकारमा नजाने भन्दै नेकपा (माओवादी केन्द्र) सरकारबाहिरै बसेको छ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका नेता सरोज कुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। जसपाको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले मुख्यमन्त्रीको रुपमा पुस २९ गते शपथग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ।

त्यसैगरी, माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत सोमवार जम्कट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

११० सदस्यीय वाग्मती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनको लागि ५६ सांसदको समर्थन आवश्यक हुनेमा उनलाई ७० सांसदको समर्थन प्राप्त भएको हो। उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।

यस्तै, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन सहित मुख्यमन्त्रीको दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुखले सोमवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कास्की क्षेत्र १ को ‘क’बाट चुनाव जितेका खगराजले प्रदेश प्रमुखले दिएको अन्तिम समयमा दुई दलको समर्थन सहित दाबी पेश गरेका हुन्।

यसैगरी, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले लुम्बिनी संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन्।

सत्तारूढ गठबन्धन दलहरूबिच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यता, कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्।

कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा शर्माले बुधवार बेलुका ५ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

त्यस्तै, सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई बुधवार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनले बुधवार मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell