
काठमाडौं : बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आइपुगेकी छिन्। काठमाडौंमा आज हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’ मा सहभागी हुन अरोरा काठमाडौं आइपुगेकी हुन्।
यसअघि पनि नेपाल आइसकेकी मलाइकाले फेसन शोको हिस्सा हुन पाउँदा खुसी लागेको बताएकी छिन्। उनले नेपालबारे थप बुझ्ने इच्छा रहेको समेत बताएकी छिन्।
‘बसाई छोटो भएता पनि नेपालबारे बुझ्न धेरै मन छ। म यसै इभेन्टमा हुनेछु। नेपाल बसाईमा यहाँको फेसन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु,’ उनले भनिन्।
नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो दरबारमार्गस्थित याक एन्ड यटी होटलमा आयोजना गरिँदैछ। बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइकाले र्याम्प वक गर्नेछिन् । साथै अन्य नेपाली मोडलहरुले र्याम्पमा देखिनेछन्।
मलाइकाले नेपाल आउँदा विमानबाट खिचेको पहाडका तस्विर इनस्टाग्राम स्टोरीबाट साझा गरेकी छिन्। यस्तै, काठमाडौं आइपुगेको भन्दै उनले सेल्फीसमेत राखेकी छिन्।