PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेसले प्रचण्डलाई विश्वासको मत किन दियो? शेखर कोइरालाको जवाफ : हेर्दै जानोस् पछि 'क्लियर' हुँदै जान्छ



अनन्तराज न्यौपाने

कांग्रेसले प्रचण्डलाई विश्वासको मत किन दियो? शेखर कोइरालाको जवाफ : हेर्दै जानोस् पछि 'क्लियर' हुँदै जान्छ

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रले राष्ट्रपतिका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने संकेत गरेका छन्।

विराटनगर विमानस्थलमा बिहीवार स्थानीय संवाददातालाई वरिष्ठ नेता डा. कोइरालाले राजनीति सम्भावनाको खेल भएकाले माओवादीले नेपाली कांग्रेसलाई सहयोग गर्नसक्ने सम्भावना भएको धारणा व्यक्त गरेका हुन्।

डा. कोइरालाले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका कारणहरू पछि क्लियर हुँदै जाने बताए।

उनले आफ्नो पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने जानकारी दिए। उनले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा प्रदेश सभाका सांसदले पनि मतदान गर्ने हुँदा यस चुनावमा कांग्रेसको चासो भएको धारणा व्यक्त गरे।

‘प्रचण्डजीलाई हामीले विश्वासको मत दिएका भए पनि हामीले आफू प्रतिपक्षमै बस्ने निर्णय गरेका छौँ, हामी सरकारमा जाँदैनौँ’, उनको कथन थियो, ‘विश्वासको मत दिनुअघि पार्टीभित्रका विभिन्न बैठकमा २ वटा कुरा आएका थिए। विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्न पाइन्छ कि पाइँदैन भन्ने कुरा थियो। अर्को विश्वासको मतमा जानु हुँदैन, विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्न मिल्दैन भन्ने कुरा आएको थियो। हामीले कानुन व्यवसायीसित पनि यसको राय लिएका थियौँ। कसैले प्रतिपक्षमा बस्न पाइन्न भन्नुभयो र कसैले पाइन्छ भन्नुभयो। म आफू भने तटस्थ भूमिकामा थिएँ। कतै लागेको थिइँन।’

डा. कोइरालाले संसदीय दलले नै विश्वासको मत हाल्ने निर्णय गरिसकेपछि आफूले सोही निर्णयको पालन गर्दै मत दिएको र आफूले यसको स्वामीत्व लिने स्पष्ट पारे।

उनले अब कांग्रेसले आफू प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको समर्थन वा आलोचना गर्ने उल्लेख गरे।

कोइरालाले विश्वभरि नै संसदीय व्यवस्था र मान्यतामा ठुलो परिवर्तन आइरहेको उदाहरण दिँदै बेलायतमा पनि प्रधानमन्त्रीको ठुलो हतियारका रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले जथाभावी विघटन गर्न नसक्ने अभ्यास सुरु भएको चर्चा गरे।

उनले नेपालमा प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो गठबन्धन टुटेको अर्को पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पछिल्लो संसदीय अभ्यास  र मान्यताका लागि सामान्य भएको जिकिर गरे।

कोइरालाको भनाइ थियो, ‘सबै कुरा अहिले नै नभनौँ, हेदै जानोस् पछि क्लियर हुँदै जान्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell