PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल टी २० मा बास्कोटाको उधारो बलिङ, चन्दको ब्याटिङ : आलुवालियाको उल्टै ‘क्याचआउट’



मुकुन्द घिमिरे

नेपाल टी २० मा बास्कोटाको उधारो बलिङ, चन्दको ब्याटिङ : आलुवालियाको उल्टै ‘क्याचआउट’

काठमाडौं : नेपाल टी २० लिगको पहिलो संस्करण बुधवार सकियो। ६ टोली सहभागी लिगको च्याम्पियन बन्यो लुम्बिनी अलस्टार्स।

कुनै प्रतियोगिताको फाइनलपछि चर्चामा आउनुपर्ने हो – कुन टोली विजेता बन्यो? कुन खेलाडीको प्रस्तुति दमदार रह्यो? ब्याट कसले धेरै घुमायो? कसको नाममा रनको रेकर्ड बन्यो? कसले धेरै विकेट ढाल्यो?

तर लुम्बिनी अलस्टार्स चुपचाप सुख्खा ट्रफी बोकेर लुसुक्क हिँड्यो। दोस्रो – तेस्रो बनेको क्लबको चर्चा पनि कहीकतै सुनिएन।

टी २० बारे केवल सुनिन्छ त – बेटिङ, फिक्सिङ, आइसीसीदेखि सीआइबीसम्मको चौतर्फी अनुसन्धान।

क्रिकेटमा चम्कँदै गरेको नेपाली क्रिकेट खेलाडीमा यति ठूलो लिग हुँदा उत्साह आउनुपर्ने हो। फ्यानसँग हात हल्लाउँदै खुसी साट्नुपर्ने खेलाडी खेल सकिनै लाग्दासम्म पनि आफ्नो पारिश्रामिक पाउने हो कि हैन भन्ने दोधारमा टस नै रोकेर बस्नुपर्ने अवस्था आयो।

घोषणा भएदेखि विवाद र आलोचनामा पिसिएको यो प्रतियोगिता मैदानमा सकियो तर मैदान बाहिर भने 'एक कान, दुई कान' हुँदै जोडले चलिरहेकै छ। दोषमाथि दोष थुप्रिएको छ आयोजकदेखि खेलाडीमाथि। खेलाडीको गुणदोष हेरेर हुटिङमा उत्रने फ्यानले प्रत्यक्ष खेल हेर्न मैदान जानै छाडे। दर्शक नआएपछि फाइनलबाहेकका केही खेलमा प्रवेश निःशुल्क गर्नसमेत बाध्य बनेको थियो आयोजक।

प्रतियोगिताको लफडाले अख्तियार पनि अनुसन्धानमा उत्रिएको छ। विभिन्न निकायले आ-आफ्नो कोणबाट अनुसन्धान थालिसकेका छन्। यो प्रतियोगिता तोकिएको दिनमै सुरु भएन। पटक-पटक सर्‍यो। अन्तत: विवाद र अन्योलताकै बिच खेल सुरु भयो र सकियो थप विवाद र अपजसका बिच।

विडिङ बिनाका पार्टनर, प्रायोजक पनि बेटिङ पृष्टभूमिकै

नेपाल टी २० लिग सुरु हुनुभन्दा अघि सबैभन्दा बढी आलोचना र शंकाको घेरामा राखिएको विषय हो प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले भित्र्याएको साझेदार संस्था सेभेनथ्री स्पोर्ट्स। नेपालमा चलिरहेका अरु लिगलाई क्षेत्रीय मान्यतामात्र दिने निर्णय गरेको क्यानले सेभेनथ्री स्पोर्टसलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिएको थियो। यो सम्झौतालाई लिएर अघिल्लो सदन त तात्यो नै अदालतमा मुद्दा अझै विचारधीन छ।

‘सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्टस प्राइभेट लिमिटेड भन्ने निजी कम्पनीको हातमा सुम्पियो’, असार १२ गतेको प्रतिनिधिसभामा बास्कोटाले कटाक्ष गर्दै भनेका थिए, ‘क्रिकेट खेलको बन्ध्याकरण गर्‍यो त्यो पनि ८ वर्षका लागि। यहाँ सम्पूर्ण खेल भारतीय कम्पनीलाई दिइएको छ।’

यतिमात्र हैन बास्कोटाले यही विषयलाई लिएर खेलकुद मन्त्रालयले नै यसलाई खारेज गर्नुपर्छ भनेका थिए। ‘हाम्रा खेलाडीको र खेल क्षेत्रको बौद्धिक सम्पत्तिमाथिको अधिकार निजी कम्पनीलाई दिइएको छ’, बास्कोटाले भनेका थिए, ‘खेलकुद मन्त्रालयले यसलाई खारेज गर्नुपर्छ।’

उनले सबै खेलको जिम्मा भारतीय कम्पनीलाई दिने हो भने युवा तथा खेलुकद मन्त्रालय र क्यानको भूमिका नरहने टिप्पणी पनि गरेका थिए।

‘यस्तो अवस्थामा खेलकुद मन्त्रालयको के काम? खेलकुद मन्त्रीको के काम छ? क्यानको के काम छ?’ बास्कोटाले प्रश्नमाथि प्रश्न गरे, ‘यसमा व्यापक आर्थिक अनियमितता भएको चर्चा आएका छन्। बिना प्रतिस्पर्धा दिइएको छ। सरकारलाई कानुन लाग्दैन?’

न त सदनको कुरा सुनियो न त मुद्दामा ध्यान। क्यान पटक-पटक ‘डिफेन्स’मै उत्रियो भारतीय संस्थाको। क्यान अध्यक्ष उल्टो जाइलागे सांसद बाँस्कोटामाथि। ‘सायद उहाँको कुनै लेनदेन होला। नभए कुन हिसाबले यस्तो बोल्नु भयो’, क्यान अध्यक्ष चन्दले भनेका थिए, ‘यसप्रति म खेद प्रकट गर्न चाहन्छु।’

त्यतिमात्र हैन बोलपत्र बिनै भारतीय कम्पनी भित्राएको आरोपमा एभरेस्ट प्रिमियर लिगका संस्थापक अमिर अख्तरले सर्वोच्चमा मुद्दा हाले। सम्झौता नै राष्ट्रघाती भएको अख्तरको दाबी थियो।

प्रतियोगिता आधाउधी नहुँदै सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए। तर, पछि उनी सम्पर्कमै रहेको र पैसा पठाउन भारत गएको दाबी गरियो। तर, फर्किएनन् उनी। यही कुरालाई क्यानले भने ढाकछोप गरिरह्यो, भारतीय संस्थालाई जोगाइरह्यो। पछि जे शंका गरिएको थियो, भयो त्यही।

जतिन भागेको पुष्टि भएपछि पुन निर्वाचित भएर प्रतिनिधिसभामा इन्ट्री गरेका एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखे : र, अन्त्यमा-टी ट्वान्टीमा चतुरबहादुरको चतुर्‍याईले काम गरेनछ। खेलाडीको बिजोग, मालिक बेपत्ता बाँकी खेल के हुने हो राम भरोसामा! मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें। आज बीसको खेल नौ खेलेर बिट मारेछन्।’

बास्कोटाको भविष्यवाणी हेर्दा यहाँनेर के भन्न सकिन्छ भने, खेलमा बास्कोटाले बलिङ गरे, चन्दले ब्याटिङ। जतिन उल्टै क्याचआउटमा उत्रँदा क्यान ‘ट्वाँ’ पर्‍यो।

सेभेनथ्री स्पोर्टसलाई लिएर क्यान किन यतिधेरै डिफेन्सिभ बन्ने गरेको थियो? कार्यसमितिकै सदस्यहरुले असहमति जनाउँदा जनाउँदै क्यान नेतृत्व किन विवादास्पद संस्थासँग गठजोड बनाउन चाहिरह्यो? ८ वर्षका लागि सम्झौता गरेको संस्थाबिचैमा भागेपछि नेपाल टी २० लिगको भविष्य के? यो प्रश्न अझ अनुत्तरित छ।

हुन त बास्कोटाको दल अहिले सरकारमा छ। पक्कै आफैले प्रश्न उठाएको विषय तीव्र विवादमा तानिएकाले बास्कोटा पनि जवाफ दिनुपर्ने ठाउँमा पुगेका छन्।

गुपचुपमा टिम र अक्सन

नेपाल टी २० लिगमा अर्को शंकास्पद गतिविधि हो गुपचुपमै टिम बन्ने, मालिकै फेरिने, टिमको नामै फेरिने। खेल सुरु हुँदै गर्दा केही टिमको मालिक को? भन्ने टुंगोसमेत लागेन। त्यसले गर्दा स्वभाविक थियो : खेलाडीको पारिश्रमिकबारे समस्या आएको।

अर्को पक्ष भनेको फ्रेन्चाइज लिग भनेको ग्ल्यामर र चर्चा गराउने क्षेत्र हो। तर, प्रतियोगिताको चर्चा परिचर्चामा आयोजकको चासो नै थिएन। अझ अक्सन पनि ‘क्लोज डोर’ मा गरेर टिम घोषणा गरेको थियो। प्रतियोगिता अगाडिसम्म पनि फ्रेन्चाइजी टिम मालिक फेरिने क्रम चलिरह्यो।

नेपाली कप्तान हुँदाहुँदै लो प्रोफाइलका विदेशीलाई जिम्मेवारी

पुस ५ गते जनकपुर रोयल्सले जर्सी तथा कप्तान सार्वजनिक गर्ने दिन थियो। जनकपुरमा मार्की खेलाडी रहेका सोमपाल कामीले कप्तानी नपाउलान् भन्ने सायदैले सोचेका थिएनन्।

नेपाली टोलीका सिनियरमध्येका खेलाडी र फ्रेन्चाइजमा अघिल्लो सिजन चितवनलाई एभरेस्ट प्रिमियर लिग जिताएका सोमपालले पनि पाए उपकप्तानको जिम्मेवारी। कप्तान को त? वेस्टइण्डिजको उमेर समूहबाटमात्र अन्तर्राष्ट्रिय खेल खेलेका ट्रेभोन अबशाइ गृफ्फित।

त्यसको भोलिपल्टै अझ अनौठो कुरा देख्न पाइयो। विराटनगर सुपर किङ्सले पत्रकार सम्मेलन गर्दा धेरैको अपेक्षा थियो, रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्नेछन्। भर्खरै राष्ट्रिय टोलीको कप्तान बनेका पौडेलले घरेलु लिगमा कप्तानी गर्दै अनुभव तिखार्नेछन्, सानै उमेरमा पाएको कप्तानको जिम्मेवारीलाई सही भएको प्रमाणित गर्नेछन् भन्ने आशा थियो। तर, जिम्मेवारी बाँड्दा उनको भागमा आयो - उपकप्तान।

टिममा उनीभन्दा अनुभवी खेलाडी नभएका होइनन्। यसअघि विश्वकप खेलेर फर्किएका जिम्बावेका सिकन्दर राजाको प्रदर्शन सधैँ सानदार थियो। भलै उनी केही खेल खेलेर नेपालबाट फर्किए। पौडेल नभए राजा कप्तानीमा आउनु एकहिसाबले स्वभाविक मान्न सकिन्थ्यो। तर, कप्तानको भूमिका पाए वेस्ट इण्डिजका आन्द्रे म्याकार्थीले। एकदिवसीय र टी २० अन्तर्राष्ट्रियमा उनको योगदान र अनुभव खासै थिएन नै।

उसो त ५ खेलपछि पौडेलले कप्तानको जिम्मेवारी पाए। हाल टोलीको कप्तान पौडेल नै हुन्। तर, आफू कप्तान नबन्ने थाहा पाउँदा दु:ख लागेको पौडेलले सुनाएका थिए।

‘अलि नराम्रै लागेको थियो। तर पनि यो निर्णय भनेको व्यवस्थापन र टिम मालिकको हो। हामीले त्यसमा केही गर्नै मिल्दैन’, पौडेलले भने, ‘त्यतिबेला मेरो नियन्त्रणभित्र केही हुने पनि कुरा भएन। ओनर र व्यवस्थापनको निर्णयमा मैले केही गर्नै मिल्दैन।’

राष्ट्रिय टोलीका कप्तान रोहितले किन सुरुमै कप्तानी पाएनन्? उनको सट्टामा किन उनी भन्दा तल प्रोफाइल देखिने खेलाडीले कप्तानी पाए? सोमपालको सन्दर्भ पनि किन त्यस्तै भयो? नेपालमा एसोसिएटमध्येकै उत्कृष्ट लिग गराउने भनेर आफ्नै देशको कप्तानलाई कप्तानी नदिनु कसको नालायकीपन थियो? र, किन? यो प्रश्न अझै अनुत्तरित छ।

फिक्सिङको अफर, शंकास्पद खेल

फिक्सिङ हुन सक्ने भन्दै नेपाल टी २० लिगको आलोचना भएको सुरुबाटै हो। प्रतियोगिताको अघिल्लो दिन क्यानका अध्यक्ष चन्दले पत्रकार सम्मेलन गर्दै फिक्सिङ र बेटिङमा शून्य सहनशील भएको बताएका थिए। तर, प्रतियोगिता चलेपछि एकपछि अर्का फिक्सिङ र बेटिङका चर्चाहरु सुरु भइहाले।

काठमाडौं नाइट्सका एकजना खेलाडीलाई ‘म्याच फिक्सिङ’को अफर आएको खुलासा भयो। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एकजना खेलाडीलाई फिक्सिङको अफर आएको खुलासा गरेका थिए।

‘अरु टिमको कुरा थाहा भएन, हाम्रो टिमको एकजना खेलाडीलाई चाहीँ एप्रोच गरेको थियो। नियमअनुसार हामीले यो रिपोर्ट एसीयूलाई गरेका थियौं’, उनले भनेका थिए, ‘एप्रोच र फिक्सिङ कुरा फरक हो। कसैले तपाईंलाई जे पनि भन्न सक्छ। अप्रोच गर्‍यो भन्दैमा फिक्सिङ गर्छ भन्ने पनि हुँदैन। रिपोर्ट गरिसकेका छौं। एसीयूले डिक्लेयर पनि गरिसकेको छ।’

मल्लले कुन खेलाडीलाई कसरी अफर आयो भन्ने खुलाएनन्। यस सम्बन्धमा प्रहरीले पनि थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै, टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले ‘स्पट फिक्सिङ’को दाबी गर्दै प्रतियोगिता छाडेको सार्वजनिक रुपमा नै घोषणा गरेका थिए। यसले पनि घटनालाई थप कसिलो बनाएको छ। पहिलो लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए।

फिक्सिङलाई अझ बलियो बनाउने विषय भनेको सेभेनथ्री स्पोर्ट्सकै पृष्ठभूमि बेटिङ रहेको र यो कम्पनीले भित्र्याएको मुख्य प्रायोजक वानएक्स ब्याटको पृष्ठभूमि स्पष्ट रुपमा बेटिङकै छ। त्यस्तै, ‘डाफा न्युज’ले पनि केही टिमलाई स्पोन्सर गरेको देखिन्छ, यो पनि बेटिङ पृष्ठभूमिकै कम्पनी हो।

चारतिरबाट अनुसन्धान र प्रहरीको निष्कर्ष

प्रतियोगिताको विभिन्न कोणलाई लिएर विभिन्न निकायहरुले अनुसन्धान गरिरहेका छन्। ‘स्पट फिक्सिङ’ भएको सूचना आएपछि प्रहरीले नेपाल टी २० लिगका खेलहरुको अनुसन्धान गरिरहेको छ। लिगका खेल सकिए पनि प्रहरीको अनुसन्धान अझै जारी रहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खेलमा ‘स्पट फिक्सिङ’ भएको खुलेको छ। जसमा नेपाली खेलाडीदेखि विदेशी खेलाडीको संलग्नता देखिएको छ। यो लिगमा ६ टिममा ९० खेलाडी सहभागी थिए। बेटिङ र फिक्सिङमा संलग्नहरुले एक खेलाडीलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ दिएको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ६० जना खेलाडी, विभिन्न संघसंस्थाका पदाधिकारीसँग बयान तथा सोधपुछ भइसकेको छ। प्रहरीको अनुसन्धानमा राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु पनि निगरानीमा रहेका छन्। उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।

बुधवारमात्र प्रहरीले लिगका खेलको फुटेज क्यानसँग मागेको थियो। कीर्तिपुरमा फाइनल खेल सम्पन्न हुँदा ‘स्पट फिक्सिङ’मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। त्यसै क्रममा आज प्रहरीले नेपाल क्रिकेट संघ क्यानलाई पत्रचार गर्दै फिक्सिङको आशंका गरिएका खेलेको फुजेट र मैदानभित्रका सीसीटीभी क्यामराको फुटेजसमेत माग गरेको हो।

क्यानका सचिव प्रशान्तविक्रम मल्ले आयोजकलाई प्रहरीले खोजेको फुटेज उपलब्ध गराउन निर्देशन दिएका छन्।

अहिले प्रहरीले घटनामा संदिग्ध रहेका व्यक्ति, साक्षीहरुसँग बयान लिइरहेको छ। जारी लिगमा ६ टिममा करिब ९० जान खेलाडी सहभागी छन्। जसमा ३४ जना विदेशी खेलाडी रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चन्दसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।

त्यस्तै, नेपाली र विदेशी खेलाडीहरुसँग पनि प्रहरीले बयान लिएको छ। प्रहरीले फिक्सिङमा संदिग्ध व्यक्तिहरुको पहिचानसमेत गरिरहेको दाबी गरेको छ। प्रहरीले पहिचान भएका व्यक्तिहरुविरुद्ध थप प्रमाण संकलन गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही नेपाली र विदेशी खेलाडीहरु फिक्सिङमा संलग्न भएको खुलेको छ।

‘हाम्रो अनुसन्धान पनि अन्तिम चरणमा छ। ३/४ दिनमा नै कुनै टुंगोमा पुग्छौं,’ सीआइबीका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।

प्रहरीबाहेक अरु निकायको अनुसन्धान पनि जारी नै छ। विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषय पनि उत्तैकै चर्चामा रह्यो। उसो त श्रम स्वीकृतिकै कागजपत्र नमिलेका कारण शुक्रवारबाट सुरु हुनुपर्ने लिग एकदिन पछि सरेको थियो। लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी अख्तियारमा परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको थियो।

अख्तियारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।

नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदले पनि नेपाल टी २० मा विकसित घटना क्रमलाई अनुसन्धान गर्न कमिटी गठन गरेको छ। क्यानको आयोजनामा जारी नेपाल टी-२० लिगकामा विदेशी खेलाडीहरुको श्रम स्वीकृती र प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेकोमा गम्भीर ध्यानकार्षण भएको राखेपले जनाएको छ।

राखेपले पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी र विसंगतीबारे ध्यानाकर्षण भएको भन्दै कार्यकारी समितिको बुधवारको बैठकले छानविनका लागि समिति गठन गरेको थियो।

त्यसबाहेक क्रिकेटको सर्वोच्च निकाय आइसीसीले पनि यसमा चासो दिइसकेको छ। बिहीवार आइसीसीका पदाधिकारीले नेपाल टी २० लिगमा सहभागी खेलाडी, अम्पायरलगायतसँग अघिल्लो बिहीवार छलफल गरेका थिए।

उनीहरुले क्यानसहित राखेप सदस्य सचिव टंकलाल घिसिङ र नेपाल प्रहरीको सीआईबीसँग पनि छलफल गरेका थियो। राखेपमा घिसिङसँग के विषयमा छलफल भएको थियो त? ‘कन्फिडेन्सियल’ भन्दै उनीहरुले यो विषय खुलाउन चाहेनन्।

टिकेनन् विदेशी खेलाडी, पारिश्रमिकमै समस्या

पारिश्रमिकमा अनिश्चितताको चर्चा चल्न थाल्ने वित्तिकै स्वभाविक थियो, विदेशी खेलाडी यहाँ टिक्न चाहेनन्। जिम्बावेका स्टार सिकन्दर राजाले केही खेल खेले, अर्को खेल बेञ्चमा बसेर फर्किए।

काठमाडौं नाइट्सका एलेक्स ब्लेकले पारिश्रमिकका कारण विराटनगरसँगको खेलमा तनाव आएका दिन भावुक अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए : क्रिसमसमा परिवार छाडेर छौँ, तर यहाँ केही निश्चित नहुँदा दुख लागेको छ।

पुस १९ गते खेलाडीले पारिश्रमिकको विवाद नटुङ्गिउन्जेल टससमेत गर्न नमानेपछि तनावको अवस्था सिर्जना भएको थियो। पछि खेल छोट्याएर खेलाइएको थियो। त्यसपछि पनि टिम ढिला आउनेलगायतका कुराहरु भइरहेका थिए।

यसैको प्रभाव थियो सायद इलिमिनेटरमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबिचको खेल चलिरहँदा ‘डगआउट’मा रोचक दृश्य देखिएको थियो। काठमाडौंले आफूसँग भएका ११ जनानै खेलाडी मैदानमा उतार्दा डगआउट खाली बनेको थियो। उनीहरुलाई विपक्षी खेलाडीले पानी पुर्‍याएका थिए।

यस्तो अवस्था कसरी आयो? विदेशी खेलाडी नटिक्ने वातावरण क्यानको नाकमुनि कसरी बन्यो? यस्तो अवस्था आउनुले क्रिकेटको स्तरबारे के सन्देश गयो? यी प्रश्नमा सायद क्यानको ध्यान जानुपर्ने हो।

पुरस्कार राशी कसले दिने?

नेपाल टी २० लिगबारे चर्चा गर्दा क्रिकेट संघका अध्यक्ष चन्दले नछुटाउने विषय हो : खेलाडीको जीवनस्तर उकास्ने गरि राम्रो नियतले प्रतियोगिता गराउन लागिएको हो।

यही हिसाबले पुरस्कार राशी पनि ठूलै तोकिएको छ। प्रतियोगितामा विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तेस्रो हुने टोलीले १० लाख र चौथो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान साढे २ लाख प्राप्त गर्नेछन् भने इमर्जिङ प्लेयरले १ लाख ८० हजार प्राप्त गर्ने क्यानले जनाएको थियो।

तर, यो रकम कसले दिने? दिने दायित्व सेभेनथ्री स्पोर्टसको हो। तर कम्पनीकै टुंगो छैन, अब पुरस्कारको टुंगो कसले लगाउने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell