मोरङ : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिनेछन्। उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका एक प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ।
प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउन लागिएको बताइएको छ। यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक/एक जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसकेका छन्।