PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



पहिलोपोस्ट

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं : प्रदेश नम्बर १ र गण्डकी प्रदेशका सरकार प्रमुखहरुले आज विश्वासको मत लिँदैछन्।

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिनेछन्। उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

विश्वासको मत लिनु अघि उनले प्रदेश सरकारमा आज नेकपा माओवादी केन्द्रका तर्फबाट दुईजना नेकपा  एमालेबाट एकजनालाई मन्त्रीलाई शपथग्रहण गराएका छन्। यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक/एक जनाले मन्त्रीका रूपमा शपथग्रहण गरिसकेका छन्।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका एक प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ।

यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएा थिए।

आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई जनाको साथ छ। स्वतन्त्र निर्वाचित राजीव गुरुङले पनि उनलाई समर्थन गरेका छन्। तर, हिजो मात्रै गुरुङले आफू प्रतिपक्षमा बस्ने निर्णय गरेका छन्।

मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भएपनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन। एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell