काठमाडौं : बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ।
काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माणको काम लगभग सकिएको र फागुनदेखि संचालनमा आउने बताए।
‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ ढकालले भने।
उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावरमध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
‘टप स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ,’ उनले भने।
ढकालले सम्पूर्ण इलेक्ट्रोमेकानिकल काम निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए। केबलकार निर्माणको काम २०७८ पुसदेखि सुरु भएको थियो।