PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल, ‘ओलीले एमालेलाई लत्याएर ४७ सालमा पुर्‍याए’



प्रकाश भण्डारी

एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल, ‘ओलीले एमालेलाई लत्याएर ४७ सालमा पुर्‍याए’

काठमाडौं : घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। राजधानीमा आज आयोजित पार्टी प्रवेश स्वघोषणा कार्यक्रममा उनले माधव कुमार नेपाल नेतृत्वको पार्टी प्रवेश गरेको घोषणा गरेका हुन्। यद्यपि, उनले आफू पार्टी प्रवेश नगरेको भन्दै सदस्यता नविकरणमात्र गरेको तर्क गरेका छन्।

‘म प्रवेश गरेको भन्दा पनि नेकपा एसमा सदस्यता रिन्यु गरेको हुँ। नेकपाको खास नेकपा एस हो। मैले ९ औं महाधिवेशनका काम बाँकी छन् भनेर पत्र लेखेँ र नेकपा एसमा मेरो सदस्यता रिन्यु गरुदिनुस भनेर भने,’ उनले भने।

उनले नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)बिचको एकता भएपछि बनेको कार्यदिशा लागू भएको भए अहिले देशमा कृषि क्रान्ति भइसक्ने बताए।

‘कृषिमा आधारित उद्योगको आधार बनिसक्थ्यो। ५ वर्ष असाधारण हुन्थ्यो हाम्रा लागि’, उनले भने, ‘अहिले जस्तो भ्रष्टाचारमा खरदार मुखिया पक्राउ पर्ने अरु उम्कने स्थिति हुँदैन थियो।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देशले ठूलो अवसर गुमाएको समेत बताए। ओलीले एमालेलाई लतारेर २०४७ सालमा फर्काएको उनको टिप्पणी थियो।

‘कमरेड ओलीका कारण मुलुकले अवसर गुमायो। जसका कारणले राजनीतिमा खुट्टा तानातान हुँदैछ। यो रंग रमाइलोबाट मुलुक दुर्घटनामा जाँदै छ,’ उनले भने।

उनले नेकपा एकीकृत समावादी पार्टी 'असाधारण ठाउँ' भएको भन्दै आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको बताए।

‘नेकपा माओवादीको कार्यदिशा पनि समाजवादी हो। नेकपा एमालेले जबजको ब्याज लगाएर सुद खाने कुरा हो। कसैले त्यसका बारेमा एक लाइन लेखेको छैन। सौराह काण्डका नेताहरु भएपछि जबज भयो। संसद पायो भने हामीले संसद विघटन गर्छौ भनेको छ,’ उनले भने।

उनले अब नेकपा एकीकृत समाजवादीलाई विशेषाधिकार नहुने पार्टी बनाउन लाग्ने पनि बताए।

‘हामी एउटा कार्यक्रम बनाउछौं। असाधारण क्षमताका केटाकेटी अए। ४०/४५ वर्षको अनुभव होइन। हामी कसैको विषेशाधिकार नहुने पार्टी बनाउँछौं। माथि गएर कसैले पनि गल्ति गरे रिकल गर्ने पार्टी बनाउँछौं,’ उनले भने।

एमाले परित्याग गरी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए। भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell